राजनीति


जनमोर्चा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग गरियोः रामचन्द्र पौडेल

जनमोर्चा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग गरियोः रामचन्द्र पौडेल

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ८:२४,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताएका छन्।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका छन्।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी गायब भएका थिए।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए।

खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए।

उनले भने, ‘किर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरि पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो।’

शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न रहेको बताउँदै उनले यो देशको व्यवस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्ने उनको भनाइ छ।

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारवाही गर्नुपर्ने बताए।

स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताए।

उनले भने, ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौँ आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ। नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ’आईसीयू’मा भर्ना भएका थिए।

मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजनको हुनु अघि अस्पतालको आइसीयुमा भेटिनु शंकास्पद देखिन्छ। राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालमा भेटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .