गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइरालाले सो प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले थप ६ दिन झण्डा हल्लाउनका लागि प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेको आरोप लगाएका छन्।
उनले प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रस्तुत अविश्वास प्रस्तावमाथि छलफल गर्दै सो धारणा राखेका हुन्।
सो प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले वैशाख २ गते गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
त्यसपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए।
प्रतिपक्षी दलहरुले प्रदेश सभाको विशेष अधिवेशनको माग गर्दै समावेदन गरेपछि आजका लागि सो बैठक तोकिएको हो।
‘६ गतेको बैठकमा आउने प्रस्ताव आज १३ गते आयो, ६ दिनमात्र त रोकियो, सँधै रोक्न त सकिएन,’ प्रदेशका माओवादी सांसद कोइरालाले प्रदेश सभामा आफ्ना धारणा राख्दै भने, ‘थप ६ दिन झण्डा हल्लाउनका लागि प्रदेश सभाको जारी अधिवेशन नै अन्त्य गरियो।’
मुख्यमन्त्री गुरुङले बैशाख ६ गते नै सभाको प्रक्रिया नरोकी आफ्ना धारणा राख्नुपर्नेमा त्यसो नगरेर संवैधानिक प्रक्रियालाई अपमान गरेको उनले बताए।
आफूहरुले संसदमा ५१ प्रतिशत समर्थन रहने पक्षले सरकार बनाउने संविधानको व्यवस्थाअनुसार स्वभाविक प्रक्रिया र अभ्यास गर्दा त्यसलाई सत्तापक्षले अस्वभाविक रुपमा लिएको बताए।

प्रतिक्रिया