जिल्ला प्रशासन कार्यालय बाँके र बागलुङले ती जिल्लाहरुमा निषेधाज्ञा जारी गरेका छन्।
नयाँ प्रकार (भेरियन्ट)को कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले थप कडाइ गर्न थालेको हो।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति बागलुङको मंगलबार बसेको बैठकले बागलुङ नगरपालिकाका १२, १३ र १४ वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
मंगलबार राति १२ बजेबाट सुरु भएको निषेधाज्ञा आगामी १७ गते रातिसम्म रहने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उल्लेख गरेका छन्।
यी क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ। बैंक तथा वित्तीय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवा समेत स्थगित गरिएको छ।
यी वडा भएर चल्ने लामो दूरीका सवारी साधनले पनि यात्रु झार्न र चढाउन समेत नपाउने भएका छन्।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेले पनि बुधबारबाट थप कडाइ गर्ने निर्णय गरेको छ।
मंगलबार नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको थियो। अस्पतालसमेत भरिभराउ भएपछि थप कडाइ गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र बुधबार राति १२ बजेदेखि वैशाख १५ गतेसम्म बैंक तथा बित्तीय संस्था, सवारीसाधान, पसल, व्यवसाय र अत्यावश्यक कामबाहेक हिडडुलमा समेत निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने उल्लेख छ।

प्रतिक्रिया