आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको छ।
संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एउटा सदस्य पद खाली रहेको जानकारी गराएपछि आयोगले त्यो परिपूर्तिका लागि आगामी जेठमा चुनाव गर्ने प्रस्ताव राखेर गृह मन्त्रालयलाई पत्राचार गरेको हो।
राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार पदावधि ६ महिनाभन्दा बढी बाँकी रहँदै राष्ट्रिय सभामा सदस्य पद रिक्त भएमा ३५ दिनभित्र निर्वाचन गराई पूर्ति गर्नुपर्छ।
गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य पदबाट बर्खास्त गरिएको मिति (यही वैशाख ५ गते) बाट ३५ दिन जेठ ७ गते पुग्छ। यसैले जेठ पहिलो साताभित्र निर्वाचन सम्पन्न हुने गरी गृह मन्त्रालयमा सोमबार प्रस्ताव पेस गरिएको निर्वाचन आयोगले जनाएको छ।
गृहमन्त्री थापा माओवादी केन्द्रको उम्मेदवार बनी बागमती प्रदेशबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए। यसैकारण अब हुने निर्वाचनमा बागमती प्रदेशकै प्रदेश सभा र स्थानीय तहका पदाधिकारी/सदस्यले मतदान गर्नुपर्नेछ।
आयोगका अनुसार बागमती प्रदेश सभामा १ सय १० र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदानमा सहभागी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटनको निर्णय गरेपछि नेकपा दुई समूहमा विभाजन भएपछि गृहमन्त्री थापा प्रचण्ड छाडेर ओलीतर्फ लागेका थिए। प्रतिनिधि सभा पुनःस्थापनालगत्तैजसो सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा एकता भंग गराउँदै तत्कालीन एमाले र माओवादी केन्द्रलाई अलग दलका रूपमा पहिलेकै अवस्थामा फर्काइदिएपछि पनि थापाले ओलीको साथ छाडेनन्। उनीसहित माओवादी केन्द्रबाट आफ्नो समूहमा सामेल २३ नेतालाई एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएपछि माओवादी केन्द्रले कारबाही गरेको हो। त्यस क्रममा सांसद रहेका पूर्वमाओवादी नेताको पद पनि खारेज गरिएको हो। कारबाहीका कारण केन्द्र र प्रदेशमा गरी १३ जनाको सांसद पद गुमिसकेको छ। अझै २ जना कारबाही प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ।
आफू सांसद निर्वाचित भएको पार्टी छाडेमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पद पनि खारेज गर्न सकिन्छ।
यी पनि :
राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन, आजैबाट दिनगन्ती सुरु
सांसदबाट बर्खास्त थापा तामझामसहित फर्किए गृहमा, गरे यस्तो निर्णय
Shares

प्रतिक्रिया