ad ad

राजनीति


राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन, आजैबाट दिनगन्ती सुरु

राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन, आजैबाट दिनगन्ती सुरु

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ८:५२,

राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेजीपछि रिक्त सिटका निर्वाचन गर्नका लागि आज आइतबारबाटै काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित थापा एमाले पार्टीमा प्रवेश गरेपछि उनलाई माओवादी पार्टीले कारबाही गरेको थियो।

सम्बन्धित पार्टीले कारबाही गरेपछि दल त्याग ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सभाले उनको पद रिक्त रहेको भनी आइतबार नै सूचना जारी गरेको हो।

सोहिअनुसार राष्ट्रिय सभाले आइतबार नै नेपाल राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ।

RastriyaSabha notice

अब सो रिक्त पदमा राजपत्रमा समेत सूचना प्रकाशित भएको ३५ दिनभित्र निर्वाचन गरी थापाको बाँकी अवधिका लागि सांसद निर्वाचित गर्नुपर्छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा सो व्यवस्था गरिएको छ।

‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ,’ सो ऐनको दफा ६१ मा उल्लेख छ।

रिक्त रहेको सो पदबारे राष्ट्रिय सभाले आज नै प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।

‘हामीले राष्ट्रिय सभामा पद रिक्त भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाइसकेका छौं,’ राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नेपालखबरसँग भने।

संसदबाट जानकारी आएसँगै आयोगले सो रिक्त पदमा निर्वाचन गराउनेछ।

बागमती प्रदेशबाट निर्वाचित पद रिक्त भएका कारण अब सो पदमा बागमती प्रदेशका सांसद, सो प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख (मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख र उपप्रमुख) ले मतदान गरी सांसद निर्वाचित गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .