ad ad

राजनीति


ओली सरकारको पतन सुरु भयो, संकेत कर्णालीमा देखियो : सिंह

ओली सरकारको पतन सुरु भयो, संकेत कर्णालीमा देखियो : सिंह

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ८:१७,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन्।

स्याङ्जामा शनिबार कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको टिप्पणी गरेका हुन्।

नेकपा एमालले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यहाँका मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिने क्रममा ओली पक्षकै एक र माधव नेपाल पक्षका ३ गरी एमालेका ४ सांसदले पार्टीको ह्विपविपरीत शाहीका पक्षमा मतदान गरेका कारण उनको सरकार जोगिएको छ।

अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत देखिएको दाबी पनि नेता सिंहले गरे।

‘ओली सरकारको पतन सुरु भयो। कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ,’ नेता सिंहले भने, ‘अब यो सरकारको आयु धेरै छैन।’

कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर भएको दाबी गर्दै नेता सिंहले संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेको आरोप लगाए।

असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता नहुने टिप्पणी गर्दै नेता सिंहले ओलीले सत्ताका आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्ने बताए।

यस्तै नेता सिंहले आफ्नो पार्टी कांग्रेसको १४औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए। ‘लोकतन्त्र जोगाउन कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ,’ उनले भने।

नेता सिंहले पार्टी विधि र प्रक्रियाबाट सञ्चालन हुन नसकेको आरोप पनि लगाए।

कसैलाई माया गरेर पार्टीका महत्त्वपूर्ण पद दिँदा कांग्रेस कमजोर भएको दाबी गर्दै उनले कांग्रेसको भविष्य कार्यकर्ताका हातमा रहेको बताए। यसैले आगामी १४औं महाधिवेशनमा क्षमतावान् नेतृत्व चयन गर्न उनले आम नेता/कार्यकर्तालाई अनुरोधसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .