कर्णाली प्रदेशमा पार्टी ह्विपविपरित ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न नेकपा एमालेको प्रदेश संसदीय दलले सिफारिस गरेको छ।
एमालेका चार सांसदले पार्टी ह्विपविपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।
‘फ्लोर क्रस’ गर्ने सांसदलाई पार्टी सदस्यबाट समेत हटाउन केन्द्रलाई सिफारिस गरिएको एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले बताए।
शाहका अनुसार संसदीय दलको बैठकले उनीहरुलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
शाहीको पक्षमा एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए। नन्दसिंह बुढा प्रधानमन्त्री केपी ओली पक्षका हुन् भने अन्य सांसद माधव नेपाल पक्षका हुन्।
३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्। त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।
एमालेकै देवी ओलीले शाहीको पक्षमा मत दिए पनि पछि सच्याएकी थिइन्।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही हुने बताएका छन्।

प्रतिक्रिया