राजनीति


पार्टी कब्जा गर्नेलाई पाठ सिकाउन फ्लोर क्रस गरेका हौँः प्रकाश ज्वाला

पार्टी कब्जा गर्नेलाई पाठ सिकाउन फ्लोर क्रस गरेका हौँः प्रकाश ज्वाला

मणि दाहाल
बैशाख ३, २०७८ शुक्रबार १३:२६,

नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ। एमालेको केन्द्रमा देखिएको विवादको असर कर्णाली प्रदेशमा पनि परेको छ। कर्णालीमा फ्लोर क्रस गरेपनि यसको असर नेपाली राजनीतिमा दीर्घकालीन रुपमा पर्ने देखिन्छ। फ्लोरक्रस गर्ने मध्येका एक प्रकाश ज्वाला एमालेका पोलिटब्युरो सदस्य हुन्। उनीसँग गरिएको संक्षिप्त कुराकानीः

तपाईंहरुले किन फ्लोर क्रस गर्नुभयो?
यो राजनीतिक विषय हो। नेकपा एमालेभित्र जुन प्रकारको समस्या सिर्जना गरिएको छ त्यो समस्याको अभिव्यक्ति पनि हो। पार्टीलाई केन्द्रमा, प्रदेशमा र जिल्लामा कसैको पेवा ठान्ने कामविरुद्धको विद्रोह हो।

हामीलाई एमाले समेत हुन नपाइने अवस्था सिर्जना गरियो। एमाले हामीले पनि बनाएको पार्टी हो। जुन प्रकारको अपमान भयो, पार्टीलाई जबर्जस्ती कब्जा गर्ने र एकलौटी गरियो। सबैभन्दा प्रजातान्त्रिक भनेको पार्टीलाई निरंकुश रुपमा सञ्चालन गरियो। त्यसको असर सबै स्थानमा पर्ने नै भयो। त्यसको असर पनि हो। योभन्दा खराब सरकार बन्नुभन्दा यही सरकार रहनु उचित भन्ने निष्कर्ष निकाल्यौँ।

अदालतले एउटा निर्णय गरेपछि, माओवादीबाट छुट्टिएर आएपछि हामी पार्टीलाई एकताबद्ध गरौँ, मिलाएर जाऔँ भनेर प्रयास गर्‍यौँ। हामी न्यूनतम मापदण्ड निर्धारण गरेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छौँ। तर कहीँकतै सुनुवाइ भएन। बरु भटाभट कारबाही गरियो।

पार्टीलाई एकताबद्ध नगर्दा, सबैको सम्मान र प्रतिष्ठा जोगाउन नसक्दा यस्तो अवस्था आउन सक्छ भनेर पाठ पनि सिकून् भनेर हामीले फ्लोर क्रस गरेका हौँ।

तपाईंहरुमाथि अब कारबाही पनि होला नि?
कारबाहीसँग कुनै परवाह छैन। कारबाही भए पनि हुन्छ भनेर गरेको हो।

एमालेको औपचारिक विभाजन कर्णाली प्रदेशबाट सुरु भएको हो?
पार्टी विभाजनको सुरुवात केन्द्रबाट गरिएको हो। अघि नै मैले जसले पार्टीलाई एकतबद्ध गर्नुपर्ने उसले नगर्ने, नेताहरुलाई भटाभट कारबाही गर्ने, बैठक नै नबस्ने, बैठकमै नबोलाउने जुन प्रकारको अवस्था हो त्यसको असर कर्णालीमा पनि पर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .