राजनीति


विद्यालय चलाउने या बन्द गर्ने, शिक्षा मन्त्रालयले दियो स्थानीय तहलाई अधिकार

विद्यालय चलाउने या बन्द गर्ने, शिक्षा मन्त्रालयले दियो स्थानीय तहलाई अधिकार

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ९:२०,

कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई भएको शिक्षा मन्त्रालयले बताएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डीसीसीएमसीले गर्न सक्ने बताएको छ।

शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताए। स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेश अनुसार भौतिक रुपमा अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ।

उनले भने, ‘कोभिड संक्रमणको पुनः बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरिसकेपछि हाम्रो यसमा गम्भीर ध्यानाकर्षण भएको छ। यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्नसक्ने विभिन्न असरहरुको बारेमा विभिन्न कोणबाट छलफल गरेका छौँ। अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्रिपरिषद्ले गर्छ, त्यस्तो अवस्थामा पनि शिक्षण सिकाईलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डीसीसीएमसी जुन छ उहाँहरुको निर्णय र स्थानीय परिवेस अनुसार, स्थानीय पालिका, स्थानीय तहहरुबाट भौतिक अथवा वैकल्पिक दुवै विधिहरुलाई जारी राख्नसक्ने हामीले निर्णय गरेका छौँ। तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनैपनि सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कुनैपनि कार्यक्रमहरुको आयोजना नगर्नु, नगराउनुहुन हामीले सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेका छौँ।’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुरुपको सिकाईका विभिन्न विधि अवलम्वन गर्न मन्त्रालयको आग्रह छ। प्रतिकुल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन समेत मन्त्रालयले आग्रह गरेको छ।

सचिव थपलियाले भने, ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ छ त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाहरुको बारेमा उल्लेख छ। त्यसको अवलम्वन गरेर, प्रतिकुल परिस्थितिमा पनि सिकाईलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ।’

सम्बन्धित पालिका तथा विद्यालयहरुले वैकल्पिक सिकाइको ढाँचाहरुको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad