राजनीति


मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने कि नदिनेबारे केन्द्रको निर्देशन पर्खँदै कांग्रेसका सांसद

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने कि नदिनेबारे केन्द्रको निर्देशन पर्खँदै कांग्रेसका सांसद

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ७:९,

कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदा उनको पक्ष कि विपक्षमा उभिने भन्नेबारे कर्णालीका नेपाली कांग्रेस सांसदहरु केन्द्रीय नेताहरुको निर्देशन पर्खिरहेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

शाहीलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने धारणा बनाउनको लागि केन्द्रीय नेताहरुको निर्देशन कुरिरहेको प्रदेश सांसद दीनबन्धु श्रेष्ठले बताए।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ६ जना सांसद रहेका छन्।

आज हुने मतदानमा के गर्ने भन्ने सम्बन्धमा केन्द्रको निर्णय पर्खिरहेको सांसद हिमबहादुर शाहीले नेपालखबरलाई जानकारी दिए।

‘यो प्रदेशमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गरेका छैनौं,’ शाहीले नेपालखबरसँग भने, ‘कांग्रेसका नेताहरु छलफलमा हुनुहुन्छ, सो छलफलले जे निर्णय गर्छ कर्णालीमा हामी त्यसै गछौं।’

उनका अनुसार मुख्यमन्त्री शाहीलाई समर्थन जनाउन माओवादी केन्द्रले कांग्रेसका सांसदहरुसँग छलफल गरिरहेका छन्।

यस्तै एमालेका सो प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पनि आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन्। विश्वासको मत लिँदा अल्पमतमा परी शाही हटेको अवस्थामा एमालेले कँडेललाई नै मुख्यमन्त्रीको रुपमा अघि बढाउने तयारी छ। उनी केहि वर्षयता प्रधानमन्त्री केपी ओलीनिकट रहँदै आएका छन्।

‘दुइैवटै पक्षले हामीसँग कुरा गरेर सहयोग गर्न आग्रह गरेका छन्, हामी केन्द्रका निर्णयपछि मात्र के गर्ने प्रष्ट पाछौं,’ प्रदेश सांसद शाहीले भने।

उनका अनुसार पार्टी केन्द्रले केहिबेरमा निर्देशन दिने संभावना रहेको छ। प्रदेशको संसद बैठक दिउँसो २ बजे बोलाइएको छ।

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सहयोग गरेकोले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गरेर जाने निर्णय हुनसक्ने एक सांसद बताउँछन्।

‘कुनै नयाँ घटनाक्रम विकास नभए मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नै समर्थन गरेर जान पार्टीले निर्देशन दिनसक्छ,’ ती सांसदले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .