नेकपा एमालेले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कर्णाली प्रदेश सभाको सातौं अधिवेशन आज (शुक्रबार) सुरु हुँदै छ।
दिउँसो २ बजे सुरु हुने अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्नेदेखि प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुतसम्म ६ वटा कार्यक्रम छन्।
कर्णाली प्रदेश संसद सचिवालयले तय गरेको कार्यसूचीअनुसार आजको बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद् बैठक आह्वानबारे पत्र पढेर सुनाइनेछ।
त्यसपछि मन्त्रालयहरूको जिम्मेवारी हेरफेरबारे पत्र प्रस्तुत गर्ने कार्यसूची छ। मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा गरी एमालेका ३ मन्त्रीले राजीनामा दिइसकेका छन्।
तेस्रो कार्यसूचीमा धर्मराज रेग्मी सांसद रहेको पद रिक्त भएको जानकारी गराउने कार्यसूची रहेको कर्णाली प्रदेशका सांसद गोपाल शर्माले जानकारी दिए।
माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र १ (क) बाट सांसद निर्वाचित रेग्मी एमाले प्रवेश गरेका कारण उनलाई माओवादी केन्द्रको कर्णाली संसदीय दलले कारबाही गरेको हो।
त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक सांसदले बोल्ने तय भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूले बोलेपछि एक घण्टाका लागि संसद् बैठक स्थगित गरिनेछ।
त्यसपछि संसदको दोस्रो बैठक सुरु गरिनेछ। बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोगसम्बन्धी संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्बन्धी विधेयक प्रस्तुत गर्नेछन्। ती विधेयक पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ।
यो पनि : मुख्यमन्त्री शाहीले लिने विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

प्रतिक्रिया