राजनीति


सांसद रावल बस्ने घरमा ढुंगा हान्ने २ जना पक्राउ, घरबेटीको रिसले ढुंगा प्रहार

सांसद रावल बस्ने घरमा ढुंगा हान्ने २ जना पक्राउ, घरबेटीको रिसले ढुंगा प्रहार

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १२:४७,

नेकपा एमालेका सांसद झपट रावल बस्ने शान्तिनगरस्थित घरमा ढुंगा हानेको आरोपमा दुई जना पक्राउ परेका छन्।

रामेछापका २२ वर्षीय मनोज तामाङ र पाँचथरका २४ वर्षीय नसिम लिम्बुलाई बिहीबार दिउँसो प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

उनीहरुले सांसद रावललाई लक्षित नभई घरबेटीसँगको रिसिबिका कारण ढुंगा हानेको महाशाखा प्रमुख चन्द्रकुवेर खापुङले बताए।

उक्त घर अगाडी बाइक पार्किङ गर्दा घरबेटीले गालि गरेको र बाइकको हावा खुस्काइदिएका कारण ढुंगा हानेको पक्राउ परेका युवाले सोधपुछका क्रममा बताएका छन्।

उक्त घरमा बुधबार राति ढुंगा हानेको भन्दै सांसद रावलले राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ध्यानाकर्षण गराएका थिए।

घरमा ढुंगा हानेपछि आफूले प्रहरीका बिभिन्न युनिटमा फोन गर्दा पनि फोन नउठाएको र पछि हनुमान ढोका प्रमुखले फोन उठाए पनि समयमै प्रहरी नपठाएको रावलको गुनासो थियो।

‘१२ बजे त्यो घरको ढोकामा ढुंगा हान्यो, त्यसपछि घरबेटी र हामी उठ्यौं। फेरि ५(१० मिनेटपछि ढुंगा प्रहार गरेपछि मैले १०० मा फोन गरें तर फोन उठेन,’ रावलले संसदीय समितिको बैठकमा भने, ‘एकजना कानुन व्यवसायीले पनि विभिन्न ठाउँमा फोन गर्नुभयो। कोटेश्वर वृत्तका डीएसपीको नम्बरमा फोन गरें। त्यहाँ पनि उठेन। पछि हनुमान ढोकाको प्रमुखले फोन उठाउनु भयो।’

आफूले घटनाको जानकारी गराएपछि पनि ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको बताएका थिए।

राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका रावलले यसबारे छानविन गर्न गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराएका थिए। त्यसको केही समयमै घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .