राजनीति


कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, यसरी तान्दैछन् अपुग १ सांसद

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, यसरी तान्दैछन् अपुग १ सांसद

सागर न्यौपाने
बैशाख २, २०७८ बिहिबार १२:४७,

एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।

शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्न लागेका हुन्।

४० सदस्यीय प्रदेश सभामा एमालेका १९ (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ। अहिले आफूलाई कांग्रेस र राप्रपाको समर्थन रहेको दाबी शाहीले गरेका छन्।

तर, त्यस हिसाबले पनि उनलाई समर्थन गर्ने सांसदको संख्या १९ मात्रै पुग्छ।

प्रदेशसभामा रहेको सिट संख्याका आधारमा हेर्दा अब शाहीलाई मुख्यमन्त्री पदमा टिक्न १ सिटको आवश्यकता छ। त्यो एक सिट कसरी पाउँछन् त?

शाही निकट एक प्रदेश सांसदका अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस र राप्रपा मात्र होइन एमालेसमेत तयार छ।

एमालेका सांसदहरुले शाहीलाई विश्वासको मत दिने भएपछि उनी कस्सिएका हुन्। शाहीले एक हप्तादेखि सांसदहरुसँग निरन्तर छलफल गरेका थिए।

सोही छलफलपछि विश्वासको मत लिने निष्कर्षमा शाही पुगेको ती सांसदले बताए।

‘विश्वासको मत लिने बलियो आधार बनेको छ,’ माओवादी केन्द्रका प्रदेश सांसदले नेपालखबरसँग भने, ‘हामीलाई आवश्यक मत दिन एमालेभित्रका सांसदहरु पनि तयार हुनुहुन्छ।’

तर, एमालेका प्रदेश सांसदहरु भने शाहीलाई विश्वासको मत दिनुभन्दा पनि आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयासरत रहेको बताउँछन्।

एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन कांग्रेस र राप्रपासँग छलफल भइरहेको प्रदेश सांसद गुलाबजंग शाहले बताए।

‘हामी त कर्णाली प्रदेशबाटै पार्टी एकताका लागि अभियान चलाएका हौँ,’ संसदीय दलका सचेतक शाहले नेपालखबरसँग भने, ‘हामी देशव्यापी अभियानमा छौँ, यो पक्ष र त्यो पक्ष भन्ने छैन।’

‘राप्रपा र कांग्रेससँग पनि नयाँ सरकार गठनका विषयमा छलफल चछलिरहेको छ तर, निर्णयमा पुग्न सकिएको छैन,’ शाहले थपे।

तर, माधवकुमार नेपाल पक्षका सांसदहरुसँग भने ओली पक्षका कँडेलसहितका नेताहरुले कुरै नगरेको एक केन्द्रीय सदस्यले गुनासो गरे।

‘नयाँ सरकार गठनका विषयमा हाम्रा पक्षका सांसदहरुसँग यामलाल कँडेल समूहले कुनै छलफल गरेको छैन,’ ती नेताले भने।

एमालेकै एक सांसदले मुख्यमन्त्री शाहीलाई आवश्यक विश्वासको मत दिने विषयमा सहमति नै जुटिसकेको सूचना आफूले पाएको बताए।

‘कर्णाली प्रदेशमा एमालेका सांसद १९ जना छौं,’ ती सांसदले नेपालखबरसँग भने, ‘त्यसमध्ये चार जना जति सांसदहरुले शाहीलाई समर्थन गर्ने कुरा सुनेको छु।’

तर, एमाले सांसद करवीर शाहीले भने राजनीतिलाई नै दाउमा राखेर कुनै पनि सांसदले फ्लोर क्रस गर्ने सम्भावना निकै कम रहेको बताए।

‘फ्लोर क्रस गर्नु सामान्य कुरा होइन संसदीय मामिलामा,’ शाहीले भने, ‘एकछिनलाई त त्यो सम्भव होला। तर, राजनीतिलाई धरापमा पारेर कसैले जोखिम मोलिहाल्ने सम्भावना कम छ।’

उनका अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने विषयमा माओवादी केन्द्रले संवाद नै गरेको छैन।

‘माथिल्लो तहमा केही कुरा भएको भए थाहा भएन। हामीसँग कुनै संवाद भएको छैन,’ करवीर शाहीले थपे।

राप्रपाका नेता मोहन श्रेष्ठले एमाले र माओवादी केन्द्र दुवैसँग छलफल भए पनि कुनै निष्कर्षमा पुगिनसकेको बताए ।

विश्वासको मत लिनु एक दिनअघि बिहीबार पनि मुख्यमन्त्री शाही दलहरुसँग छलफलमा छन्।

‘अहिलेपनि हामी विभिन्न दलका सांसदहरुसँग छलफलमै छौँ,’ शाही निकट सांसदले सुर्खेतबाट भने।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै जना मन्त्रीले चैत २४ गते राजीनामा दिएका थिए।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्।

चैत २३ गते बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिने निर्णय गरिएको थियो।

माओवादी केन्द्रको प्रदेश सभा दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सबै प्रदेश सांसदहरुलाई आग्रह गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .