राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले वैकल्पिक शक्तिको नेतृत्व चाहेको बताएका छन्।
राप्रपा काठमाडौं महानगर समितीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले कांग्रेस र कम्युनिस्ट असफल साबित भएको दाबी गर्दै वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए।
सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको उनले बताए। संवैधानिक अंगका प्रमुखहरुमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको उनले बताए।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नुपर्नेमा थापाको जोड थियो ।
अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्वसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको बताएका हुन्।

प्रतिक्रिया