राजनीति


गण्डकी प्रदेश सरकार फेर्न यसरी जुट्यो कांग्रेस–माओवादी सहमति

गण्डकी प्रदेश सरकार फेर्न यसरी जुट्यो कांग्रेस–माओवादी सहमति

नेपालखबर
बैशाख १, २०७८ बुधबार १०:०,

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो।

२०७४ मंसिरमा चुनाव भएर बनेका प्रदेश सरकारमध्ये सबैभन्दा पहिले गण्डकी प्रदेश सरकार फेरबदल हुने संभावना देखिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कसले लिने समेत टुंगो लगाएका छन्।

दुबै पार्टीनिकट स्रोतका अनुसार मंगलबार र बुधबार भएको दुबै पार्टीको शीर्ष नेताहरुको बैठकले गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउने र लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने समझदारी गरेका छन्।

दलभित्र सहमति जुटिसकेकोले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध केहीदिनमै अविश्वासको प्रस्ताव पनि पेस हुँदैछ।

‘गण्डकी प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बनाउन समझदारी जुटेको छ,’ कांग्रेस प्रदेश सभा सांसद विष्णु लामिछानेले नेपालखबरसँग भने, ‘भोलि (बिहीबार) बस्ने दलको बैठकले यसबारे थप निर्णय गरेर अघि बढ्छ।’

प्रदेश सांसदहरुका अनुसार भोलि नै अविश्वासको प्रस्ताव पेस गर्नेगरी तयारी भएको छ।

माओवादी केन्द्रबाट हरिबहादुर चुमान (अजित) र दीपक कोइराला तथा कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका थिए।

तर, मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कांग्रेसलाई मुख्यमन्त्री बनाउने समझदारी बनेको माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देबेन्द्र पौडेलले बताए।

उनका अनुसार सो प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री बनाएर जाने सहमति शीर्ष तहमा जुटेको छ।

सो सहमतिअनुसार सो प्रदेशमा कांग्रेसका संसदीय दल नेता रहेका कृष्णचन्द्र नेपाली पोख्रेल नै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने प्रबल संभावना रहेको नेताहरुको भनाइ छ।

सरकार टिकाउन निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ।

बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरोधी कदममा साथ दिएको भन्दै मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्।

गण्डकी प्रदेश सभामा ६० जना सांसद रहेका छन्। त्यसमा एमालेका २७ सांसद छन्। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १३ (सभामुख नेत्रनाथ अधिकारीसहित), जनमोर्चाका तीन र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद रहेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो पदमा टिकिराख्न एमालेबाहिरका ४ सांसदको आवश्यकता पर्छ।

बुधबार राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै एमालेको सबैभन्दा सुरक्षित मानिएको गण्डकी प्रदेश सरकार नै सबैभन्दा पहिले संकटमा पर्ने देखिएको छ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध आउने अविश्वासको प्रस्तावका पक्षमा मत दिने जनाएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सो प्रदेशमा बन्ने नयाँ समीकरण कांग्रेस वा माओवादी जसको नेतृत्व भएपनि समर्थन जनाउने बताएका छन्।

नयाँ सरकारमा भने आफूहरु सहभागी नहुने उनले प्रष्ट्याएका छन्।

यो पनिः राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, अविश्वास प्रस्तावको पक्षमा भोट गर्ने

देबेन्द्र तीनदिनदेखि पोखरामै
गण्डकी सरकार फेरबदलको लागि माओवादी केन्द्रका स्थायी समिति सदस्य देबेन्द्र पौडेल तीनदिनदेखि अहिले पोखरामै छन्।

सो प्रदेशका पार्टी इन्चार्ज समेत रहेका पौडेलले माओवादी केन्द्र, कांग्रेस, जसपा र जनमोर्चाका नेतासँग छलफल गरेका थिए।

प्रदेश तहमा भएको सोही छलफलका आधारमा निर्णायक वार्ता गर्नको लागि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवाले पनि प्रचण्ड र देउवाबीच गण्डकी प्रदेश सरकार फेरबदलको विषयमा कुरा भएको बताए।

‘उहाँहरुबीच गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको हो,’ भानु देउवाले नेपालखबरसँग भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad