परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तक्र्रिया मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन्।
‘दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए।
मन्त्री ज्ञवालीले नेपाल र भारत एक आपसमा विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविष्य सँगसँगै अघि बढ्नुमा निर्भर रहने बताए। सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका राजनितिक, आर्थिक र सामाजिक अवस्थाले प्रभाव पार्ने बताए।
जलमार्ग, कृषिमा साझेदारी लगायत आर्थिक विकासका अन्तरदेशीय विभिन्न योजनाहरु अघि बढीरहेको भन्दै उनले छिमेकी सम्पन्न हुनु र विपन्न हुनुको प्रभाव नजिकको छिमेकी मुलुकलाई पर्ने बताए। उनले डुबानको समस्याप्रति भने दुवै देश संवेदनशील बनी दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औल्याए। त्यसैगरी उनले सीमा सुरक्षा र सीमामा बनाउने संरचना पनि दुवै देशको हितमा गरिनुपर्ने धारणा राखे।
उनले आर्थिक विकासको क्षेत्रमा ठुला उपलब्धि हासिल गरेको भारतलाई थप उपलब्धिको कामना सहित ७३ औ स्वतन्त्रता दिवसको शुभकामना पनि दिए ।

प्रतिक्रिया