ad ad

राजनीति


संसदमा यादवको भनाइः भारतीय नारीमाथि शंका गर्नेले हिमानीसँग संस्कार सिकून्

संसदमा यादवको भनाइः भारतीय नारीमाथि शंका गर्नेले हिमानीसँग संस्कार सिकून्

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:५२,

सांसद प्रदीप यादवले नेपालीसँग विवाह गर्ने भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको गुनासो गरेका छन्।

त्यस्तै कानूनका कारण कैयौं जनता नागरिकताविहीन हुन परेको र त्यसले गर्दा नागरिकहरु अधिकारविहीन हुनुपरेको उनले संसदमा आवाज उठाएका छन्।

संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी ऐनमा वैवाहिक अंगिकृतलाई सात वर्षे प्रावधान राखेर विभेदपूर्ण व्यवस्था गरेको उनले बताएका छन्।

उनले नेपालीसँग बिहे गर्ने कुन चाहिँ भारतीय नारीले नेपालमा राष्ट्रघात गरेका छन् भनी प्रश्न गरेका छन्।

‘ नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्रघात गरेका छन्,’ उनले सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रश्न गरे, ‘पूर्वराजाहरुका रानीहरु पनि भारतीय नारी नै थिए, पशुपति शमसेर लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी नै हुन्, उनीहरुले के राष्ट्रघात गरे?’

पूर्वयुवराज पारसकी श्रीमती हिमानीको उदाहरण दिँदै उनले भारतीय नारीहरु कति संस्कारयुक्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सिक्न आग्रह गरे।

‘पारसको चर्तिकलाबारे सबैलाई थाहै छ, लठ्ठू भएर हिंड्ने, गाँजा खाने, के के गर्ने, त्यो सबैलाई थाहा छ,’ उनले संसदमा भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो संस्कार पाएकी छिन्, श्रीमान जस्तो भए पनि भारतीय नारीले सिन्दूरको कदर कसरी गर्छन्, कसैले सिक्न चाहन्छ भने हिमानीसँग सिकोस्।’

यादवले हिमानीले नेपालमा कुन ठाउँमा राष्ट्रघात गरेकी छन् भनेर प्रश्न गरे।

नेपालमा नेपालीसँग बिहे गर्ने भारतीय नारीलाई अनावश्यक शंका गरेर विभेदपूर्ण नागरिक ऐन बनाएको उनले बताए।

यस्तो प्रावधान पास नगर्न उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .