राजनीति


देशमा सांसद नभएर पनि मन्त्री बन्ने पदलोलुपको झुन्ड : भीम रावल

देशमा सांसद नभएर पनि मन्त्री बन्ने पदलोलुपको झुन्ड : भीम रावल

नेपालखबर
चैत २८, २०७७ शनिबार १:५,

नेकपा एमालेका नेता भीम रावलले सांसद नभएर पनि मन्त्री बन्नेहरूलाई ‘पदलोलुप’को संज्ञा दिँदै त्यस्ताको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्यायउने काम भइरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आफ्नो पार्टी एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि धमाधम मन्त्रीमा पुनर्नियुक्ति गरिरहेका बेला पूर्वगृहमन्त्री रावलले विरोध जनाएका हुन्।

‘प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो,’ रावलले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्।

माधव नेपाल पक्षका रावल पनि तिनै नेता हुन्, जसलाई अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट समेत निलम्बन गरेका छन्।

प्रधानमन्त्री ओलीले नेकपा छँदा आफ्ना पक्षमा रहेका गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। जसमध्ये संघीय सांसद रहेका गृहमन्त्री थापासहित विभिन्न मन्त्री रहेका टोपबाहदुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले संसद् सचिवालयलाई पत्र पठाई सांसद पदबाट बर्खास्त गरेको हो। योसँगै उनीहरूको मन्त्री पद पनि गएको थियो। तर प्रधानमन्त्री ओलीले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संविधानको धारा प्रयोग गरेर उनीहरूलाई पुनः मन्त्रीमा नियुक्ति दिएका हुन्। सांसदै नभएका मणि थापा र दावा लामालाई पनि ओलीले यसअघि नै मन्त्री बनाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad