ad ad

राजनीति


कांग्रेसको नेतृत्वमा सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत, जसपाले थप छलफल गर्ने

कांग्रेसको नेतृत्वमा सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत, जसपाले थप छलफल गर्ने

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १२:१५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका छन्।

शुक्रबार दिउँसो सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको छलफलमा सभापति देउवाले पहिलोपटक ओली सरकारको विकल्प खोज्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका हुन्।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा नयाँ सरकार गठनबारे सभापति देउवाले माओवादी र जसपाको धारणा मागेको बताए।

‘आजको बैठकमा सभापति देउवाले कांग्रेसको निर्णय आफ्नै नेतृत्वका सरकार बनाउने भन्ने छ, त्यो निर्णयलाई कार्यान्यवनका गर्दै  नयाँ सरकार बनाउनका निम्ति तपाईंहरुको धारणा छलफल गरौँ, तपाईहरुको धारणा के छ भनेर प्रस्ताव गर्नुभयो’, उपाध्यक्ष श्रेष्ठले भने।

याे पनि  :  बुढानिलकण्ठ बैठकपछि ठाकुरले भने : नयाँ सरकारबारे आज प्रस्ताव आयो, अब छलफल गछौँ

बैठकमा सभापति देउवाले ओली सर्वसत्तावादी भएको, सत्ता कब्जा गर्न खोजेको, प्रहरी, सेना, कर्मचारीलार्ए पार्टी र आफ्नो कमाण्डमा चलाउन खोजेको भन्दै उनीबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने भन्दै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्तावमा सहगोग गर्न आग्रह गरेको श्रेष्ठले बताए।

कांग्रेसले पहिलोपटक औपचारिक रुपमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेको भन्दै यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने बताएको उनले बताए।

‘कांग्रेसबाट पहिलोपटक औपचारिक रुपमा नयाँ सरकारबारे प्रस्ताव आएको र यसबारे पार्टीमा कुनै छलफल नभएको भन्दै पहिले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ जसपाले दियो’, उनले भने।

उनले कांग्रेसको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक रहेको र स्वागत गरेको बताए। उनले आफूहरुले संविधानविरोधी ओली सरकार हटाउन र लोकतन्त्रका पक्षधरको सरकार बनाउन चाहेको बताए।

याे पनि  :  देउवा निवासमा बसेको तीन दलको बैठक सकियो, जसपाले माग्यो थप समय

‘हाम्रो पार्टीको तर्फबाट हामीले यो संविधानको स्प्रिटको विपरीत गएको, प्रतिनिधि सभालाई विघटन गरेको, सम्पूर्ण रुपले निरंकुश रुपमा आगाडि बढ्न खोजेको र क्रियाकलाप गरिरहेको केपी ओलीको सरकारलाई हटाएर संविधन, लोकतन्त्रलाई रक्षा गर्ने चाहने शक्तिको सरकार आवश्यक रहेको बताउँदै आएका कारण कांग्रेसको प्रस्तावलाई स्वागत गछौँ’, उनले भने, ‘जसपाको निर्णय गर्न भनेकाले छिटो निर्णय होस भनेका छौँ, जसपाको निर्णयपछि तीन दलको बैठक बस्छ।’

आजको बैठकमा कांग्रेसबाट देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति विजयकुमार गच्छेदार, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद अध्यष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरु सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .