सर्वोच्च अदालत बार एशोसियशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नहकुल सुवेदीको नियुक्तिका लागि गरिएको सिफारिस संविधानको भावना र मर्मविपरित रहेको बताएको छ।
सर्वोच्च बारले शुक्रबार पत्रकार सम्मेलन गरी सो धारणा व्यक्त गरेको हो।
‘संविधानको धारा १२९ (५) मा कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तीको लागि योग्य मानिने छ भन्ने व्यवस्था गरिएको छ,’ बारले भनेको छ।
तर सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदमा तत्काल कार्यरत रहेको अवस्थामा सुवेदीको उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा २०७४ पुस मा नियुक्त भएको हुँदा सो अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उनको योग्यता नपुग्ने बारले जनाएको छ।
‘न्यायपरिषदबाट मिति २०७७ फागुन १८ मा सिफारिस गर्दाका मितिसम्म उहाँले मुख्य न्यायाधीशको पदमा रहेर ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेको देखिन्छ,’ बारले भनेको छ, ‘यसर्थ उक्त नियुक्तिले संविधानको भावना र मर्मविपरित भएको यस बारको ठहर छ।’


Shares

प्रतिक्रिया