नयाँ सत्ता समीकरण निर्माणका लागि नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ।
दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हुने तीन पार्टीको छलफलमा जसपाबाट चारजना नेता सहभागी हुने भएका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो देउवासँगको छलफलमा सहभागी हुने ठाकुरको सचिवालयले जनाएको छ।
‘कांग्रेसले बोलाएको बैठकमा जसपाबाट चारजना नेता जानुहुन्छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘बैठकको एजेण्डा भने केही दिइएको छैन, सायद वर्तमान राजनीतिक परिस्थितिको बारेमा होला।’
कांग्रेससँगको छलफलमा ठाकुर समेत सहभागी हुनेभएपछि सो बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने नेताहरुले बताएका छन्।
उता माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने अडानमा रहेका ठाकुरकै कारण जसपाले सत्ता समीकरणमा कुन पक्षलाई साथ दिने भन्ने निर्णय गर्न सकेको छैन।
जसपाभित्र ठाकुरले प्रधानमन्त्री ओलीसँगै मिलेर आफ्ना माग पुरा गराउनुपर्ने अडान लिँदै आएका छन् भने डा. भट्टराई र यादव भने ओलीलाई सरकारबाटै हटाउनैपर्ने अडानमा छन्। जसका कारण जसपाले अहिलेसम्म पनि एकमतले कुनै निर्णय गर्न सकेको छैन।
देउवा र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच बिहीबार विहान २ घण्टा छलफल भएको थियो। सो बैठकपछि देउवा तीन दलको बैठक राख्न सहमत भएको देउवानिकट नेताहरु बताउँछन्।
कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति देउवालाई संसद बैठकमा ओलीको राजीनामा माग्ने र नयाँ सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएको थियो।

प्रतिक्रिया