राजनीति


सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ : प्रधानमन्त्री ओली

सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ : प्रधानमन्त्री ओली

नेपालखबर
चैत २६, २०७७ बिहिबार १०:१८,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरेका हुन्। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए।

उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए।

उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट (प्रतिशत) सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्ट भित्र परियो भने गैगयो नी। त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए।

उनले भने, ‘कतिपयले भन्छन मलाई, भनिआएका छन्। आफ्नो कुरा गर्नुनी भनेर। आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ। अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने संठनात्मक कुरा बताउने की, राजनीतिका दाउपेचका छन् नी ‘हामी यहाँ छौं’ वाला कुरा बताउने की? के बताउने, तपाईहरुलाई लड्डु खान सिकाउने की? राजनीति के चाहिं गर्ने, तपाईहरुसँग त बिजनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ। अब कोभिड १९ छ कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ? कोभिड–१९ ले देश आक्रामक छ। भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनु परेन। प्रधानमन्त्रीले पनि कोभिडलाई लखेटछ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले उद्योग व्यावसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताए। यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे।

उनले भने, ‘ब्युरोक्रयाटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्स। यसलाई पनि सरलिकृत गर्ने। यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनरविचार गर्न जरुरी छ। व्यक्तिलाई मात्रै दोष लगाएर हुने स्थिति छैन।’

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे। उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताए।

उनले भने, ‘हामीले आयात गर्ने कुराहरु ती हुन लगानी र प्रविधि, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन। अब जहाँसम्म अति जरुरी छ त्यो हालका लागि आयात गर्नुप¥यो। तर हाम्रा निम्ति आयात नगरी नहुने कुराबाहेक अनावस्यक चिजहरु आयात गर्नु हुँदैन। आयात अत्यावस्यक वस्तुको मात्रै, हाम्रो जनजीवनका लागि अत्यावस्यक वस्तुको मात्रै आयात गर्ने अरु कुरा हामी आफैँले उत्पादन गर्ने, उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमुलक वस्तुहरुको उत्पादन गरेर निर्यात गर्ने। उत्पादन बढाएपछि आयात कम गरेपछी अनावस्यक वस्तुहरु आयात कम गर्‍यो भने अहिले पनि अनावस्यक वस्तुहरु आयात गर्न छोड्यौं भने, अनावस्यक वस्तुहरु उपभोग गर्न छोड्यौं भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ।’

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गरे। कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताए।

उनले भने, ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का पर्‍यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन। धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरु क्षेत्रहरुपनि धेरै नोक्सान परेका छन्। त्यसकारण क्षति नभएको होइन तर फेरिपनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ। एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं।’

प्रधानमन्त्री ओलीले लामो समय विग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए। तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताए।

उनले भने, ‘सरकारले पर्याप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै विग्रिएको चिजलाई फेरि ट्रयाकमा ल्याउन अलिकति समय लाग्दैछ। तर समयले अब गति लिँदैछ। हामीले जुन ट्रयाक लिँदैछौँ यसले गति लिँदै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad