ताइवानको हवाई सेनाले यसैहप्ताको बुधबार अमेरिकाबाट ‘मार्टिन्स प्याट्रियट सर्फेस–टु–एयर’ क्षेप्यास्त्र खरिद गर्ने निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चिनियाँ हवाई सेनाद्वारा ताइवानको हवाई क्षेत्रमा दैनिक घुसपैठको कार्य भइरहेको छ।
यसबीचमा ताइवानले आफ्नो सार्वभौमिकता बचाउन भन्दै अमेरिकाबाट जमीनबाट आकाशमा मार हान्नसक्ने क्षेप्यास्त्र खरिद गर्ने निर्णय लिएको हो।
ताइवानको हवाई सेनाका अनुसार अमेरिकामा निर्मित ‘प्याट्रियट एडभान्स्ड क्यापेबीलिटी ३’ प्याक–३ मिसाईल सन् २०२५ देखि ताइवान भित्रने छ र सोही वर्षबाट चीनको खतराविरुद्ध तैनाथ हुनेछ।
यसअघि डोनाल्ड ट्रम्प सरकारमा रहँदा पनि ताइवान र अमेरिकाबीच अरबौंको हतियार सम्झौता भएको थियो।
यी कार्यहरुबाट चीन निकै रुष्ट छ। ताइवानसँग स्वतन्त्र कारोबार गरेकोमा बेइजिङले अमेरिकालाई आवश्यक कारवाही गर्ने बताउँदै आएको छ।
गतवर्षको अन्तिममा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ ताइवान भ्रमणमा आउने चर्चा चलेको थियो।
त्यसबेला पोम्पिओ ताइवान अवतरण गरेको खबर पाउना साथ चिनियाँ हवाई सेनाले ताइवानमा आक्रमण गर्ने चीनले चेतावनी दिएको थियो।
वास्तवमा चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। तर आफ्नै संविधान र निर्वाचित सरकार भएको ताइवानले आफू एक सार्वभौम मुलुक भएको बताउँदै आएको छ।
अमेरिकासँग बढ्दो मित्रताबीच चिनियाँ विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।
गतवर्ष चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका अलगवावादी शक्तिबाट खतरा भएकाले आफ्ना सेनालाई युद्धको लागि तयार रहन निर्देशन दिएका थिए।
यी घटनाक्रमबीच ताइवानले आफ्नो रक्षा शक्तिलाई बनाउने प्रयत्न गरिरहेको हो।

प्रतिक्रिया