नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मसमीक्षा गर्न अनुरोध गरेका छन्।
नेकपा खारेजको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरवलोकन मुद्दा सर्वाेच्च अदालतले अस्वीकार गरेको दिन बिहीबार राति सामाजिक सञ्जालमार्फत उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र नेपाललाई नेकपा हुँदाका बेला एकता बचाउन गरिएका प्रयास स्मरण गर्न आग्रह गरेका हुन्।
‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झँदै अब त आत्मसमीक्षा गर्न थाल्नुस्– माधव नेपाल/प्रचण्ड कमरेडहरू !’
निर्वाचन आयोगमा आफूले पहिले दर्ता गरेको नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर पछि दर्ता नेकपा खारेज गरिदिएको थियो।
त्यसप्रति असन्तुष्ट हुँदै तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं र हाल पुनर्स्थापित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरवलोकन माग गर्दै यही चैत १७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको पूर्ण इजलासले आज पहिलेकै फैसला सदर गर्दै पुनरवलोकन गर्न नमिल्ने निर्णय गरेको हो।
प्रतिक्रिया