ad ad

राजनीति


डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

नेपालखबर
चैत १५, २०७७ आइतबार ७:४८,

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन्।

‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ’, उनले भने, ‘स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको छ।’

आयोगको जिल्ला समितिले शनिबार फिदिममा आयोजना गरेको स्थानीय तहसँगको अन्तक्र्रियामा उनले भूमिहीनभन्दा अव्यवस्थित बसोबासीको सङ्ख्या ठूलो रहेकाले जग्गा उपलब्ध गराउनेसम्मको प्रक्रियाका लागि करीब डेढ वर्षको समय लाग्ने जानकारी दिए।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या करीब १३ लाख घर परिवार हुने आयोगले अनुमान गरेकामा करीब २१ लाख घर परिवार हुने प्रारम्भिक तथ्यांक देखिएको उनले बताए।

‘भोगचलनमा रहेको कूल जग्गा जमीनको २५ प्रतिशतको रजिस्ट्रेसन नरहेको पाइयो’, उनले भने, ‘यसले राज्यलाई घाटा त गरिरहेकै छ, यसरी अव्यवस्थितरुपमा बसोबास गर्नेलेसमेत भोगचलनको सम्पूर्ण अधिकार नपाउँदा घाटा सहनुपरेको छ।’

आयोगका सदस्य गोपाल गुरागाईंले स्थानीय तह र आयोगका जिल्ला समितिलाई सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

जिल्लामा नमूनाका रुपमा हिलिहाङ गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगसँगको सहकार्यमा कार्य शुरुआत भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूका अनुसार गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेको छ। हिलिहाङमा मात्रै ३९६ जनाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको भनी निवेदन लिएका छन्।

अन्तक्र्रियामा यहाँका स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतले आयोगले हल गर्ने समस्याका विषयमा रहेका द्विविधाबारे चासो राखेका थिए। भोगचलन रही कागजातविहीन जग्गालाई कानूनी बनाउने, हदभन्दा बढी जग्गा भएकाको जग्गाको भोगचलनको प्रवन्ध, सरकारी अभिलेख नभएका तर जग्गाधनीसँग कागजात भएका जग्गाको रजिष्ट्रेसन, नम्बरी जग्गासँग जोडिएका ऐलानी जग्गाको भोगचलनलगायतका विषयमा सरोकारवालाले जिज्ञासा राखेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, आयोगका जिल्ला समितिका अध्यक्ष करुणा राईलगायतले सबै क्षेत्रबाट आयोगलाई इमान्दार सहयोग गरी भूमिहीनलाई जग्गाको प्रबन्ध गर्ने कार्यमा मद्दत गर्न आग्रह गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .