नेता नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ। बिहान ९ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता जोशीको शुक्रबार राति ८ बजे निधन भएको थियो। काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो। पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री समेत बनेका थिए।
मन्त्री बन्दा उनले सार्वजनिक संस्थानहरुको सुधारमा उल्लेख्य काम गरेर प्रशंसा बटुलेका थिए। काठमाडौंको उपमेयर समेत बनिसकेका नेता जोशी काठमाडौंवासीबीच निकै लोकप्रिय नेता थिए।
यसैबीच नेता जोशीको पार्थिव शरीरको आजै अन्त्यष्ठि गरिँदै छ। जोशीको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म उनकै निवास वसन्तपुरको याट्खा टोलमा राखिने पारिवारिक स्रोतले जनाएको छ।
त्यसैगरी दिउँसो १२ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया