नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको निर्णय गर्ने अधिकार खोसेर आदेश पालक बनाउन खोजिएको बताएका छन्।
बुधबार काभ्रेको धुलीखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपालीहरुलाई हेप्न र निर्णय गर्ने अधिकारी खोसिन थालेको हो कि भन्ने लागेको बताए।
उनले नेपाल राष्ट्र, भावी सन्ततिको र नेपालीको भविष्य र आत्म निर्णयको अधिकार धरापमा परेको बताए।
शान्ति सम्झौता, गणतन्त्रको घोषण, संविधानसभाबाट संविधान जारी, कम्युनिस्ट एकताका गर्दा आफूलाई आत्मनिर्णय गर्न सक्यौँ कि भन्ने लागेको बताए पनि अहिले अवस्था त्यस्तो नरहेको बताए।
‘केही समयदेखि हामी आफ्ना बारेमा आत्मनिर्णय गर्न सक्ने भइयो भनेर आत्मगौरव गर्थेँ मैले’, उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट गणतन्त्र र संविधानको घोषणा गर्दै गर्दा, कम्युनिस्ट पार्टीको एकताको प्रस्तावसहित गठबन्धन गर्दै गर्दा र चुनावको नेतृत्वको गर्दै गर्दा आत्मगौरव हुन्थ्यो कि नेपाली हामी हाम्रो बारेमा कसैको दबाब, हस्तक्षेप डर, धाक, धम्की होइन हामी आफैले निर्णय गरेका छौँ। हामी आफैले निर्णय गरेर परिणाम निकाल्न सक्नु नेपालीको आत्मगौरवको विषय हो।’
अध्यक्ष प्रचण्डले अहिले फेरि एकचोटी हामी नेपालीहरु निरिह हुन, हेपिन थालेका र हाम्रो अधिकार खोसेर आदेश पालक बनाउन खोजिएजस्तो भान भइरहेको बताए।
‘अहिले फेरि एकचोटी हामी निरिह हुन थालेका हौँ कि?, हामी नेपाली फेरि नराम्रोसँग हेपिन थालेका हौँ नि?, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो? तिमीहरु अली बढी गर्यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि? तिमीहरु आफ्नो बारेमा निर्णय गर्न पाउँदैनौँ हामी गरिदिन्छौं तिमीहरुले मान्न मात्रै पर्छ भनेर आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ’, उनले भने।
उनले आफूलाई यसबाट पीडाबोध भएको बताए।
Shares

प्रतिक्रिया