राजनीति


स्पष्टीकरणपछि हुनसक्ने कारबाहीविरुद्ध रणनीति बनाउन छलफलमा नेपाल समूह

स्पष्टीकरणपछि हुनसक्ने कारबाहीविरुद्ध रणनीति बनाउन छलफलमा नेपाल समूह

नेपालखबर
चैत ९, २०७७ सोमबार ३:२,

स्पष्टीकरण मागेको अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने देखिएपछि नेकपा एमालेको माधव नेपाल पक्षका नेता रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन्।

त्यसबारे छलफल गर्न आज नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बस्ने भएको हो। एक नेताका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। बानेश्वरमा बस्ने बैठकले यसबारे औपचारिक धारणा बनाउने नेपाल पक्षले जनाएको छ।

नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका कदम र गरेका निर्णयविरुद्ध आफूले गरिरहेका गतिविधिमा कुनै परिवर्तन नगर्ने बताएको छ।

‘हामीले सहमतिकै साथ अघि बढ्न खोजेको हो तर त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नै तयार नभएको देखियो,’ एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘स्पष्टीकरण कसरी आउँछ र के के आरोप लगाउँछन हेर्न बाँकी छ तर अदालतको फैसलाअनुसार पार्टीका कमिटीहरुलाई सक्रिय बनाउने काम निरन्तर जारी रहन्छ।’

शनिबार एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ। तर त्यसका लागि पत्र पठाइसकेको छैन।

स्पष्टीकरणका लागि उनीहरूलाई पत्र पठाउने तयारी भइरहेको ओली पक्षले गरेको जनाएको छ।

‘केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ। महासचिवले पत्र लेख्नुहुन्छ र जतिसक्दो छिटो पत्र पठाउने छौ,’ नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरसँग भने।

पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले यही फागुन २३ गते उनकै नेकपालाई मान्यता दिँदै एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा बदर गरिदिएपछि पुनर्स्थापित एमालेभित्र आन्तरिक किचलो बढेको हो।

नेकपा हुँदा प्रचण्डसँग लागेको नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी अध्यक्ष ओलीले खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापालगायत माओवादी केन्द्रका २३ नेतालाई एमालका केन्द्रीय सदस्यसमेत बनाएका छन्।

गत फागुन २८ गते ओलीले आफूपक्षीय केन्द्रीय सदस्यालाई मात्र बोलाएर त्यसरी एकलौटी निर्णय गरेयता दुवै पक्षले एकअर्काविरुद्ध कारबाहीको चेतावनी दिँदै अलग–अलग बैठक र भेला गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad