राजनीति


ओली पक्षले नेताहरुलाई स्पष्टीकरण सोधेपछि के गर्दैछ नेपाल–खनाल समूह?

ओली पक्षले नेताहरुलाई स्पष्टीकरण सोधेपछि के गर्दैछ नेपाल–खनाल समूह?

नेपालखबर
चैत ८, २०७७ आइतबार १७:४०,

नेकपा–एमालेको नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिएका कदम र उनले गरेका निर्णयका कारण आफ्ना कामकारबाहीमा कुनै परिवर्तन नगर्ने बताएको छ।

ओली नेतृत्वमा शनिबार बसेको पार्टी बैठकले माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षका नेताहरुसँग स्पष्टीकरण सोध्ने भने पनि नेपाल–खनाल खेमाका नेताहरु भने आफ्ना पूर्ववत् कार्यक्रममा कुनै परिवर्तन नगर्ने बताएका छन्।

नेपाल–खनाल पक्ष सर्वोच्च अदालतको फैसलाअनुसार अनुसार संगठनलाई सक्रिय बनाउने अभियानलाई नै निरन्तरता दिने बताएका छन्।

उनीहरुले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेकै संगठनलाई सक्रिय बनाउनुपर्ने अडान लिँदै आएका छन्।

‘हामीले सहमतिकै साथ अघि बढ्न खोजेको हो तर त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नै तयार नभएको देखियो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘स्पष्टीकरण कसरी आउँछ र के के आरोप लगाउँछन हेर्न बाँकी छ तर अदालतको फैसलाअनुसार पार्टीका कमिटीहरुलाई सक्रिय बनाउने काम निरन्तर जारी रहन्छ।’

शनिबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेपाल–खनाल पक्षले भने त्यसलगायत बिभिन्न निर्णय गर्ने शनिबारको बैठक पनि विधानसम्मत् नभएको बताउँदै आएका छन्।

सो बैठकले चारजना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर उनीहरुले आइतबारसम्म पत्र पाइसकेका छैनन्।

‘हेरौं, के आरोप लगाइन्छ, के भनिन्छ, त्यो हेरेपछि अनि के प्रतिक्रिया दिने त्यसपछि नै निर्णय गरिन्छ,’ एक नेताले भने।

ओली पक्षले भने उनीहरुलाई स्पष्टीकरणको पत्राचार गर्ने तयारी गरेको छ।

‘केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ। महासचिवले पत्र लेख्नु हुन्छ र जतिसक्दो छिटो पत्र पठाउने छौ,’ नेकपा–एमालेका कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरसँग भने।

तर सो बैठकले खनाल–नेपालको मागविपरित केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ।

मंसिर २ देखि ६ गतेसम्म हुने भनिएको एमालेको दशौं महाधिवेशनको आयोजक कमिटीमा अध्यक्ष र महासचिव पद भने रहिरहने बताइएको छ।

अध्यक्ष ओलीले नेपाल–खनाल पक्षका नेताहरुसँग समूहगतरुपमा छलफल नगर्ने र यसबीचमा भएका गतिविधिका लागि आत्मालोचना गरेर आए सो पक्षका नेताहरुको गुनासो सुन्ने बताएका छन्।

‘अब सामूहिकरुपमा छलफल हुने संभावना एमालेमा समाप्त भएको छ,’ ओलीनिकट एक नेताले भने।

नेपाल–खनाल पक्षले पूर्वमाओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्य बनाउने भनी फागुन २८ गतेको बैठकबाट गरिएको निर्णय विधानविपरित भएको बताउँदै आएका छन्। सो दिन ओलीले आफूपक्षीय सदस्यहरु मात्र राखेर बैठक गरी माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुका साथै नेपाल–खनाल पक्षका कैयौं नेताहरुलाई जिम्मेवारीविहीन बनाएका थिए।

ओली पक्षले त्यसलाई चैत ७ गतेको बैठकको तयारीको रुपमा गरिएको विशेष बैठक भनेको छ।

सो निर्णयको विरोधमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो। सो भेलाले आगामी तीन महिना देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

‘प्रधानमन्त्री ओलीले हामीहरु निस्किएर जाउन् भन्ने चाहनुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘ओलीको पछिल्लो गतिविधिले पार्टीलाई फुटको संघारमा पुयाएको छ।’

नेपाल–खनाल पक्षले विभिन्न क्षेत्रमा भेलाहरुलाई तीव्रता दिएको छ। राजधानीमा शनिबार र आइतबार भएको राष्ट्रिय भेलाले नरेश शाहीको नतृत्वमा राष्ट्रिय युवा संघ पुनर्गठन गरेको छ।

त्यसैगरी जयन्ती राईको नेतृत्वमा अखिल नेपाल महिला संघ पुनर्गठन गरेको छ। नेपाल–खनाल पक्षले मंगलबार र बुधबार विद्यार्थीहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad