राजनीति


सरकार बनाउन गणितीय नतिजाको पर्खाइमा छौं : कांग्रेस प्रवक्ता शर्मा

सरकार बनाउन गणितीय नतिजाको पर्खाइमा छौं : कांग्रेस प्रवक्ता शर्मा

नेपालखबर
चैत ५, २०७७ बिहिबार १०:४२,

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ।

वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिएका हुन्।

उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे। यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनले बताए।

वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने प्रश्नमा उनले आफैसँग भएको सांसद संख्या र अन्य दलहरुभित्र भएको अन्तरकलह र त्यसको परिणामको स्पष्ट तस्बिर बाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पारे। विहीबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताए।

उनले भने, ‘जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो म्यान्डेट खण्डित भइसकेको अवस्था छ। सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो। अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भइसक्यो। अहिले उनीहरुले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन। त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो। अब सत्तामा जानै हुन्न भनेर हामी पनि मान्दैनौं। तर अब गणितीय रुपमा नेपाली कांग्रेस पार्टीले जबसम्म परिस्थिति सिंगो सिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेस पार्टी प्रधानमन्त्री पदका लागि दौरासुरवालमा चाहीँ आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं।’

उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे। उनले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे।

उनले भने, ‘प्रदेश १ र बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरुले चाँडै निर्णय गरिहालौं भन्नुभयो। निश्चिय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौं होला। तर त्यसबेला हामीले निर्णय गर्ने हतारो गरेको भए? आखिर अविश्वासको प्रस्ताव त विधिवतरुपमा गएन। त्यसैले अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टी जो सँग रहेको गणित पनि माधवजीहरु त फरक गु्रपमा हुनुहुन्छ र यतापट्टि जसपासँग रहेको गणित, त्यो गणित सम्पूर्ण रुपमा संगठित भएर नै नयाँ समिकरणको सन्र्दभमा पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छैनौं। त्यसैले त्यो नभइसकेको अवस्थामा हामीले संवाद नै नगरेको, छलफल नै नगरेको, नेतृत्व लिनेतर्फ अलिकति रुची नै नराखेको र उदासिनता नै राखेको भन्ने चाहीँ होइन।’

उनले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गरे। राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा उनले राखे।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको गणित संसदको अविश्वासको प्रस्ताव दर्ता गर्न पुग्ने गणित होला तर अविश्वासको प्रस्ताव पारित गर्न पुग्ने गणितको साथ अरु दलहरु त्यही रुपमा त्यही निर्णयका साथ आइहालेको अवस्था होइन। उहाँहरुले कमरेड केपी ओलीको विकल्प खोजुँ भन्ने एउटा कुरा भयो। तर विकल्प खोजुँ भनेर भन्दै गर्दा अगाडि सार्ने एजेण्डाहरु अर्को विषय भयो, त्यसकारण अन्य दलहरुले पनि के प्रष्टता राख्नुपर्ने बेला भएको छ भने हामी साँच्चै प्रतिगमनतर्फ कदम चालेको प्रधानमन्त्रीजी, असंवैधानिक कदम चालेको प्रधानमन्त्रीजी, सत्तामा शासन गर्नका लागि नैतिक रुपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्रीजीलाई विदाई गर्ने कुरालाई प्रधानरुपमा राख्छाैं या यसपछाडीका हाम्रा एजेण्डालाई प्रधान रुपमा राख्छाैं भन्ने कुरामा चाहीँ अरु दलहरु पनि क्लियर भएर आउनुपर्ने अवस्था छ। त्यसकारण नेपाली कांग्रेस पार्टीले तुरुन्तै प्रधानमन्त्री लिनेगरि हतारोमा छौं भनेर जागरुकताका साथ गइहाल्ने कुराको हतारो गर्न हुन्न। नेपाली कांग्रेस पार्टीका सभापति स्वयम्ले भन्नुभएको छ, हामी हतारो पनि गर्दैनाैं, आइहाल्यो भने जिम्मेवारीबाट पनि भाग्दैनौं।’

प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढक्ढकाएको भएपनि त्यसका लागि आवश्यक पृष्टभूमि भने तयार नभइसकेकाले सरकार गठाको सुनिश्चितताका लागि आवश्यक गणितीय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढक्ढकाएको छ। तर त्यसका लागि चाहिने पर्याप्त गणितको लागि चाहिने पृष्टभूमि र त्यहाँभित्रको वातावरण त्यही रुपमा विकसित नभइरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी सत्ताको नेतृत्व त गर्ने तर नेतृत्व गर्नका लागि उपयुक्त गणितीय कुरा नपुगिसकेको अवस्थामा धेरै अग्रसरता नलिने भन्नेमा छ। यसको अर्थ हामी कुराकानी, छलफल र संवादमा कहीँ पनि छैनौं भन्ने होइन। हामी केही न केही संवादहरुमा आन्तरिक रुपमा छौं। परिपक्व वातावरण बनाएर उचित गणितीय वातावरण बनाएर त्यसपछि सार्वजनिक रुपमा आउनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad