राजनीति


३६ वर्षको हुँदा भारतको जेलमा परे, ७५ वर्ष पुग्दा बल्ल छुट्दै

३६ वर्षको हुँदा भारतको जेलमा परे, ७५ वर्ष पुग्दा बल्ल छुट्दै

नेपालखबर
चैत ५, २०७७ बिहिबार १:१५,

४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (जेलमा उनी दीपक जोशी तिम्सिनाका नामले चिनिन्छन्) ले बल्ल मुक्ति पाउने भएका छन्।

दार्जिलिङमा भएको एक हत्याको अभियोगमा सन् १९८१ देखि बन्दी जीवन बिताइरहेका उनलाई बुधबार साँझ कोलकातास्थित उच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

तर केही कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले अझै ६/६ महिनामा उनले हाजिर हुनुपर्ने (तारेख धाउनुपर्ने) अदालतले जनाएको छ।

२०३७ सालतिर इलामको एकतप्पास्थित घरबाट उनी व्यापार गर्छु भनी दार्जलिङ गएका थिए। तर त्यही बेलादेखि उनी बेपत्ता भए। परिवारले धेरैतिर खोजे, तर पत्ता लागेनन्। त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन पनि चलिरहेकाले उनी त्यसमै परेर बिते कि भन्नेसम्म परिवारले सोच्यो।

अन्ततः एक महिनाअघि मात्र एकाएक उनी त कोलकाताको दमदमस्थित भारतको केन्द्रीय कारागारमा रहेको खबर सार्वजनिक भयो। त्यसपछि उनलाई भेट्न उनका भाइ पुगेका थिए।

सुरुमा दार्जिलिङ कारागारमा राखिएका उनलाई सन् २००५ मा अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो। उनीसँगै १० वर्ष जेल बसेका राधेश्याम दास भन्ने व्यक्तिले सञ्‍चारमाध्यमलाई बताएपछि उनीबारे वास्तविकता बाहिर आएको थियो।

त्यसपछि मानवअधिकारीवादी तथा सामाजिक अभियन्ताले उनको विषयमा सोधीखोजी गर्दा वास्तवमा त्यहाँको प्रशासनको लापरबाहीले गर्दा लामो समय मुद्दा सुनुवाइ हुन नसकी उनी जेलमा थन्किएको थन्कियै भएको खुलासा भएको हो।

पक्राउ पर्दा उनी मात्र ३६ वर्षका थिए, अहिले ७५ वर्ष पुगिसकेका छन्। 

जेल भित्रको चरम यातनाका कारण अहिले उनी शारीरिक तथा मानसिक दुवै रूपमा अशक्त रहेको मानवअधिकारीवादी संस्थाले जनाएका छन्। अब चाँडै उनलाई परिवारको जिम्मा लगाइने जनाइएको छ।

याे पनि :  ४० वर्षअघि इलामबाट हराएका दाइ भारतको जेलमा भेटिए !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad