स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किंदैछन्।
प्रधानमन्त्री ओली दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले नेपालखबरलाई जानकारी दिए।
ओली १८ साउनमा सिंगापुर गएका थिए। यस अघि प्रधानमन्त्री ओलीले स्वदेश फर्किने कार्यक्रम दुईपटक स्थगित गरेका थिए।
ओली गत शुक्रबारै स्वदेश फर्किने कार्यतालिका थियो। तर, उपचार नसकिएका कारण कार्यतालिका शुक्रबारबाट आइतबार सरेको थियो।
तर, स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेकाले प्रधानमन्त्री ओली आइतबार पनि स्वदेश फर्किएनन्।
राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण ‘अब्बल’ रहेको बताएका छन्। सोमबार सिंगापुरबाट स्वदेश फर्कनुअघि रिमालले ट्वीट गर्दै अस्पताललाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री ज्यूको अब्बल स्वास्थ्य परिक्षणको लागि NUH लाई धन्यवाद । हार्दिक आतिथ्यताको लागि सिंगापुर सरकार र जनताप्रति आभार ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा भएको हो।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा.दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य छन्।

प्रतिक्रिया