आइतबार राति सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बनेको हो।
सुपर ओभरमा पाएको १० रनको लक्ष्य हक्सले ४ बलमा पुरा गर्यो। आन्द्रे रसेलको तेस्रो र चौथो बलमा क्रिस लीन लगातार चौका प्रहार हक्सको जित पक्का गरे।
त्यसअघि हक्सले बनाएको १ सय ९२ रननै नाइट्सले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै बनाएपछि खेल सुपर ओभरमा गयो।
नाइट्सका लागि कप्तान सोएब मलिकले ६४ रन जोडे। उनले ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौका सहित ४६ रन अविजित रहे।
त्यसअघि टस हारेर ब्याटिङ थालेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९२ रन जोडेको थियो।
शैमन अनवारले ४५ बलमा ८ चौका र ७ छक्का सहित ९० रनको उत्कृष्ट इनिङ खेल्दै हक्सका लागि ठूलो स्कोर बनाएका थिए। क्रिस लिन २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन जोडे।
यस खेलमा पनि नेपाली तीव्र गतिका बलर सोमपाल कामी पहिलो रोजाईमा परेनन्। तर विदेशी फ्रेन्चाइजी लिगको उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्। थुप्रै विदेशी लिगहरु खेलेपनि अर्का नेपाली खेलाडी सन्दीप लामिछाने गत सिजनको बिगबास लिगको फाइनलमा पुगेपनि उपाधि जित्न भने चुकेका थिए।
सोमपाललाई हक्सले यस सिजनका लागि ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। सोमपालले यस सिजनमा १ खेलमात्रै खेल्न पाए। तर विकेट भने पाएनन्।
प्रतिक्रिया