राजनीति


सत्तारुढ दल संसदलाई अगाडि बढाउने पक्षमा छैन : खाँड

सत्तारुढ दल संसदलाई अगाडि बढाउने पक्षमा छैन : खाँड

नेपालखबर
चैत २, २०७७ सोमबार १३:३६,

नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन्।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितीको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्य सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताए।

मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको उनको भनाई छ। सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए।

उनले भने, ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन। उहाँहरुले बिगतमा पनि बजेट सेसनमा अस्वाभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै विघटन गर्नु भो। र अहिले न्यायपालिकाले पुनर्स्थापना गरिसकेपछि पनि सरकार सदनलाई गम्भिरतापूर्वक सम्बोधन गरेर अगाडि बढाउने मानसिकतामा देखिँदैन।’

उनले थपे, ‘किनकी उहाँहरुले आजको बैठकमा हेर्दाखेरी सरकारले, सत्ता पक्षले अहिलेसम्म कुनैपनि बिजनेश नै दिएको छैन। र अध्यादेश जुन अस्ति अगाडि बढाएको छ, त्यसमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकुल रहेको कारणले हामीले बिरोध जनाएको हो। त्यसमा हामीले बिरोधको सूचना पनि दर्ता गरिसकेको छौँ। तर अरु अध्यादेशहरु वाास्तवमा सदन चलेको भए सदनबाटै अध्यादेशको रुपमा आएका छन् त्यसलाई परिस्कृत गरेर, परिमार्जित गरेर अगाडि बढाउनुपर्ने ठाउँमा ति अध्यादेशहरुलाई अगाडि बढाउने बारेमा पनि सरकार गम्भीर छैन। भोलिको सदनको कार्यसूचिका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन। कुनै कार्यसूचि छैन।’

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए।

उनले भने, ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो। भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि कुनै अभिरुचि जनाउनु भएको छैन।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ। मंगलबारको बैठकको कार्यसूचि हालसम्म तय भइसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad