राजनीति


माओवादी केन्द्रको बैठकमा उठ्यो ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने चर्चा

माओवादी केन्द्रको बैठकमा उठ्यो ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने चर्चा

नेपालखबर
चैत २, २०७७ सोमबार ९:५२,

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीलाई कम्युनिस्ट पार्टीको ब्रान्ड ब्राण्ड बनाएर लैजान नेताहरुले सुझाव दिएका छन्।

माओवादी ब्रान्डमा जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन सकिएको भन्दै बैठकमा बोल्ने केही नेताहरुले अब कम्युनिस्ट पार्टी ब्रान्ड बनाएर समाजवादसम्मको यात्रा तय गर्न सुझाव दिएका हुन्।

सोमबारको बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले कम्युनिष्ट ब्रान्डको पार्टी बनाएर त्यसको फेरि नेतृत्व गर्न प्रचण्डलाई सुझाव दिए।

‘माओवादी ब्राण्डलाई कम्युनिष्ट ब्रान्डमा परिवर्तन गरौं,’ उनले भने,‘ माओवादी संघर्षको ब्रान्ड थियो, अब कम्युनिष्ट पार्टी भन्ने ब्रान्ड बनाउन सकेमात्र नयाँ ठाउँमा योजना र दृष्टिकोणसहित जान सकिन्छ। अहिले मुलुकले खोजेको पनि नयाँ योजना नै हो।’

भण्डारीले अहिले समाजको चरित्र अनुरुपको नेता केपी ओली नै देखियो भन्दै व्यंग्य पनि गरे।

‘समाजले अहिले जस्तो चरित्र खोजेको छ, त्यसमा सुहाउने पात्र ओलीनै रहेछन् अरु होइन,’ भण्डारीले भने।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या कहाँनेर हो? पार्टीको विचार र समाजवाद कस्तो हुनुपर्ने हो? मतदाता र कम्युनिष्ट पार्टीको सदस्यबीचको अन्तर के हो? त्यसबारे प्रष्ट हुन पनि नेतृत्वलाई सुझाव दिए।

‘हामी कम्युनिष्ट पार्टीको अहिलेको परिस्थितिमा समस्या कहाँनेर छ? समाजवाद भाषामा हुने कि योजना र कार्यक्रमसहित जाने? कसरी क्रान्ति गर्नुहुन्छ? क्रान्ति गर्ने हो भने, भोटर र क्रान्तिकारीबीच अन्तर छुटिनुपर्‍यो नी त,’ बैठकमा भण्डारीले धारणा उधृत गर्दै एक नेताले भने।

उनले दलाल पुँजीवादको बाटोमा हिँड्ने अनि समाजवादको व्यानर झुण्ड्याउने काम गरेर नहुने बताए।

‘विदेशी शक्तिकेन्द्रहरुले माइक्रो म्यानेज्ड गर्ने, यहाँको राजनीति मिलाइदिने, नेता बनाइदिने यो रहँदासम्म समाजवाद आउँदैन। यसलाई चिरेर लाने जिम्मेवारी हाम्रो नेतृत्वसामू आएको छ।’

माओवादी केन्द्रमा व्यक्तिवाद र व्यक्ति पूजा हुने गरेको र यसको अन्त्य गर्नुपर्नेमा उनले नेतृत्वको ध्यानाकर्षण गराए।

‘हामीभित्र भएको व्यक्तिवाद जिन्दावाद र मुर्दावादको अन्त्य गर्नुपर्छ’ उनले भने।

बैठकमा स्थायी समिति सदस्य जनार्दन शर्माले अहिले भएको सबै षडयन्त्र प्रचण्डलाई कमजोर बनाउने योजनासहित भएको बताएका थिए।

‘यो सबै प्रचण्डलाई कमजोर पार्ने षडयन्त्र अन्तर्गत भएको छ,’ शर्माले भने।

उनले रुकुममा विभिन्न आयोजना बनाएर १८ हजार जनतालाई रोजगारी दिएको र जोडेको बताउँदै त्यस्तै कार्यक्रम लिएर जनताकोमा गए समस्या नपर्ने बताए।

‘जनतासँग जोडिने संगठनको मोडेल बनाएर जाऊँ, कार्यक्रम लिएर गएपछि समस्या पर्दैन,’ शर्माले बैठकमा भने।

वर्षमान पुनले केपी ओलीको राष्ट्रवाद हिन्दू धर्मको राष्ट्रवाद, पहाडी राष्ट्रवाद रहेको बताएका थिए।

‘ओली प्रवृत्ति के हो? त्यसलाई संश्लेषण गर्नुपर्छ,’ बैठकमा पुनले भने।

बैठकमा २० जना नेताहरुले धारणा राखेका थिए। आजको बैठक सकिएको र अब केही दिनपछि बस्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad