एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज (सोमबार) छलफल हुन लागिरहेका बेला पार्टी एकता अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमले भने आफ्नो छुट्टै बैठक राख्ने भएका छन्।
नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उनले भोलि मंगलबारका लागि बैठक बोलाएका हुन्।
‘भोलि (मंगलबार) बिहान ११ बजे बल्खु (सिद्धिगणेश पार्टी प्यालेस) मा अभियानको बैठक बस्नेछ,’ उनले भने।
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको १ सय ७५ सदस्यीय कार्यसमिति छ।
ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन्।
अभियानका संयोजक गौतमले ओलीले गरेका निर्णय खारेज गरी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने उद्घोषण यसअघि नै गरिसकेका छन्।

प्रतिक्रिया