म्यान्मारमा सेनाले सत्ता कब्जा गरी नियन्त्रणमा लिन लागेका बेला भाग्न सफल लोकतान्त्रिक नेताले भूमिगत रहेरै सैन्य कुविरुद्ध ‘क्रान्ति’ जारी राख्ने उद्घोष गरेका छन्।
सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदले ‘सीआरपीएच’ समिति गठन गरेका छन्। जसको प्रमुख मान विन खाइन थान हुन्।
गत माघ १९ गते सेनाले शासनसत्ता हातमा लिएयता भूमिगत नेता मान विन खाइन थानले पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै सैन्य शासनविरुद्ध क्रान्ति जारी राखिने घोषणा गरेका हुन्।
बीबीसीका अनुसार उनले भने, ‘यो देशका लागि सबैभन्दा अँध्यारो क्षण हो अनि बिहानी आउन लागेको बेला हो।’
आङ सान सुचीको पार्टी नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) गत वर्ष निर्वाचनमा बहुमतसहित विजयी भएको थियो। तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै शासन सत्ता हातमा लिएको हो। हाल सुची, राष्ट्रपति, मन्त्रीलगायत पार्टीका सबै नेता सेनाले नजरबन्दमा राखेको छ।
जसविरुद्ध म्यान्मारमा दैनिक आन्दोलन भइरहेको छ। शनिबार मात्र त्यहाँ १२ प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रतिक्रिया