राजनीति


ओलीले बोलाएको बैठकमा सहभागी हुन नेपाल–खनाल पक्षले राख्यो दुई सर्त

ओलीले बोलाएको बैठकमा सहभागी हुन नेपाल–खनाल पक्षले राख्यो दुई सर्त

नेपालखबर
फागुन २९, २०७७ शनिबार १६:२०,

नेकपा एमालेको नेपाल–खनाल समूहका नेताहरुले चैत ७ गते हुने केन्द्रीय समिति बैठकले गर्ने निर्णय नै अब एमाले एक रहने कि नरहने भन्नेबारे निर्णायक बन्ने बताएका छन्।

सो बैठकमा पनि अध्यक्ष ओलीले एकलौटी ढंगबाट अघि बढ्ने शैली देखाएमा उनीसँगै एउटै पार्टीमा नरहने स्थिति आउने उनीहरुको भनाइ छ।

नयाँ बानेश्वरमा शनिबार भएको सो समूहका केन्द्रीय सदस्यहरुको भेलामा नेताहरुले सो निष्कर्ष निकालेका हुन्।

सो समूहले आगामी रणनीति तय गर्न चैत ४ र ५ गते कार्यकर्ताहरुको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

‘हामीले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेका छौं। त्यसमा सबै समिति र जनसंगठनका नेताहरुको सहभागिता रहनेछ। त्यसले केही महत्वपूर्ण निर्णय गर्ने छ,’ नेपाल–खनाल समूहका एक नेताले भने, ‘चैत ७ गते हुने भनिएको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयपछि एकै स्थानमा रहने कि नेकपा एमालेलाई पुनर्गठन गरेर अघि जाने भन्ने विषयको निर्धारण हुनेछ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितको समूहका नेताहरुले पुष्मकमल दाहाल प्रचण्डसँग गठबन्धन गरेका थिए।

तर अदालतले फागुन २३ गतेको फैसलाबाट पूर्ववत् एमाले र माओवादी पार्टी ब्युँताएपछि नेपाल–खनाल समूहमा रहेका एमाले नेताहरुले एमालेमै रहेर अघि बढ्ने घोषणा गरेका थिए।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल पक्षलाई खबर समेत नगरी केन्द्रीय समितिको बैठक राखेर एकलौटी निर्णय गरेपछि उनीहरु आक्रोशित बनेका छन्।

उनीहरुले आफ्नो सर्त पुरा नभए चैत ७ गतेका लागि बोलाइएको बैठक बहिस्कार गर्ने तयारीमा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबारको बैठकबाट गरेका निर्णय खारेजी र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेकै संगठनलाई ब्युँत्याउनु पर्ने उनीहरुको सर्त छ। त्यसो नगरे आफूहरु बैठकमा सहभागी नहुने सो समूहका नेताहरुले बताएका छन्।

‘हिजो गरिएको भनिएको त्यो खासमा बैठक नै होइन। छापामार शैलीमा जे काम गरियो त्यो हामीलाई मान्य छैन, त्यसलाई खारेज गर्नुपर्छ,’ नेपाल पक्षका नेता रघुजी पन्तले नेपालखबरसँग भने, ‘त्यसैगरी सर्वोच्च अदालतको फैसलाअनुसार संगठनले काम गर्न पाउनु पर्छ भन्ने भेलाको निष्कर्ष हो।’

अदालतले पार्टीलाई एकीकरणभन्दा पहिलेको अवस्थामा ब्युँताएको हुँदा सो संरचनालाई निरन्तरता दिनुपर्ने उनले बताए।

‘बैठकहरु विधान र विधिअनुसार सञ्चालन गरिनुपर्छ, विगतमा पनि सचिवालयले एजेण्डा तय गर्ने गरेको थियो र अब पनि बैठकहरु त्यसैअनुसार सञ्चालन हुनुपर्छ,’ पन्तले भने।

अध्यक्ष ओलीले शुक्रबार आफूनिकट सदस्यहरुको बैठक बोलाएर केन्द्रीय सदस्यहरु थप र जिम्मेवारी हेरफेर गरेका थिए।

पूर्वमाओवादीबाट ओली पक्षमा लागेका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो।

शुक्रबार बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर ओलीले दुई छुट्टाछुट्टै बैठक गरेर संगठनमा व्यापक फेरबदल गरेका थिए।

‘सबैलाई खबर नगरिकन पनि बैठक हुन्छ? हामी पनि केन्द्रीय सदस्य हौं, हामीलाई किन खबर नगरिएको?’ पन्तले प्रश्न गरे, ‘अब एमालेलाई एक बनाएर लैजाने कि विभाजन गर्ने भन्ने अध्यक्षमा निर्भर छ।’

पार्टीलाई एक बनाएर अघि बढाउनका लागि अध्यक्षले स्वभाविकरुपमा अझ बढि जिम्मेवारी र नेतृत्व लिनुपर्ने उनको भनाइ छ।

शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले चैत ७ गते बालुवाटारमा बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा सबै उपस्थित हुनुपर्ने र अनुपस्थित भए विधानअनुसार कारवाही हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा निर्णय गरेको भन्दै त्यसविरुद्ध रणनीति तय गर्न भनी नेपाल–खनाल समूहले बोलाएको चैत ४ र ५ गते राष्ट्रिय भेला महत्वपूर्ण हुने बताइएको छ।

भेलामा केन्द्रीय सदस्यहरु, पार्टीका बिभिन्न निकायका सदस्य, प्रदेश समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी, गाउँ समितिका अध्यक्ष, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी, संघीय तथा प्रदेशसभाका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने केन्द्रीय सदस्य निरज आचार्यले बताए।

‘देशभरबाट आउने सहभागीबीच समूहगत छलफल गरी पार्टीको अवस्था र आगामी दिशाबारे निष्कर्ष निकालिने छ,’ आचार्यले भने।

शुक्रबार भएको भेलामा वरिष्ठ नेता नेपालले सर्वोच्चको फैसलापछि आफूहरुले अदालतको आदेशको सम्मान गर्दै अघि बढ्ने भनेपछि अध्यक्ष ओलीबाट पनि संवादको अपेक्षा गरिएको भनी अन्य नेताहरुलाई बताएका थिए।

‘अदालतको फैसलापछि कसरी अघि बढ्ने भनी अध्यक्षबाट फोन आउँछ भन्ने अपेक्षा गरेको थिएँ, तर कुनै पहल भएन। विष्णु पौडेललाई मैले आफै सम्पर्क गर्न खोजेको थिएँ, उहाँ पनि सम्पर्कमा आउन चाहनुभएन,’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

नेपाल–खनाल पक्षको शनिबारको भेलाले विभिन्न प्रदेशमा समन्वयका लागि नेताहरु चयन गरेको छ।

प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी तथा कर्णालीमा युवराज ज्ञवाली र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई संयोजकको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad