पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ‘एक पार्टी, एकल नेता’ नीति कडाइसाथ लागू गरेको बताएका छन्।
अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय बैठक राखेर झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई जिम्मेवारीविहीन बनाएको भोलिपल्ट शनिबार पूर्वसभामुख ढुंगानाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
ओलीले हिजो गरेको एकलौटी निर्णयले ‘एक पार्टी, एकल नेता’ नीति लागू गरिएको प्रस्ट भएकाे ढुंगानाको भनाइ छ।
शनिबार सामाजिक सञ्जालमार्फत पूर्वसभामुख ढुंगानाले भनेका छन्, ‘नेकपामा ‘ओली डक्ट्रिन’ घोषणा भयो। हिजोको एमाले अध्यक्षीय पुनर्गठनले ‘एक पार्टी एकल नेता’ को नीति कडाइसाथ लागू गरेको देखियो।’
ओलीले त्यस्तो निर्णय गरेर अझ प्रस्ट रूपमा आफ्नो आधिपत्यको सन्देश दिएको उनको विश्लेषण छ।
पूर्वसभामुख ढुंगानाले अगाडि भनेका छन्, ‘सन्देश, उर्दी अझ प्रस्ट भयो– म अधिवेशनबाट निर्वाचित अध्यक्ष, पार्टीमा बस्ने भए पूरापूर मेरो सर्तमा बस, बस्दैनौ, मलाई नबिथोल, आफ्नो बाटो लाग !’
ऋषि कट्टेलले नेकपा नाममा आफूले पहिले निर्वाचन आयोगमा दल दर्ता गराएकाले एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपाको मान्यता खारेजीको माग गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले यही फागुन २३ गते उनकै पक्षमा फैसला गरेको हो। योसँगै पछिल्लो नेकपा भंग भई यसमा एकीकृत भनिएका एमाले र माओवादी केन्द्र पुनः पहिलेकै अवस्थामा फर्किएका हुन्।
त्यसको एक हप्ता पनि नबित्दै अध्यक्ष ओलीले शुक्रबार एमालेभित्रका महत्वपूर्ण जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन्। उनले शुक्रबार एकैदिन आफूपक्षीय केन्द्रीय समितिका सदस्यको दुईवटा बैठक राखेर पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजको घोषणा गरे। योसँगै वामदेव गौतम, भीम रावलहरूको उपाध्यक्ष पद खुस्किएको छ भने झलनाथ खनाल र माधवकुमार नेपाल तथा उनीहरू पक्षका सबै नेताको जिम्मेवारी खोसिएको छ।
यस्तै माओवादी केन्द्रबाट एमालेमा आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने एमालेको दसौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने भनेर तोकेका छन्।
जुन निर्णय अवैधानिक भन्दै खनाल–नेपाल पक्षले आजै मात्र समानान्तर कमिटी बनाएको छ।
Shares

प्रतिक्रिया