नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको निर्णयको प्रतिकार गरिने बताएका छन्।
नेपालखबरसँग संक्षिप्त कुरा गर्दै उनले कसैले चाहँदैमा पार्टीभित्र एकलौटी नहुने बताएका हुन्।
‘आज जुन निर्णय भयो भनेर समाचार आएका छन्। त्यसको प्रतिकार हुन्छ,’ भुसालले भने, ‘ओलीले अहिले जुन निर्णय गरेका छन्। त्यसलाई असफल बनाइन्छ। यसको राजनीतिक र वैचारिक रूपमा प्रतिकार गर्ने कुरा छँदै छ। कानुनी रूपमा प्रतिकार हुन्छ।’
शुक्रबार एमाले अध्यक्ष ओलीले लगातार दुईवटा बैठक राखेर माधवकुमार नेपालसहितका नेतालाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका छन्।
त्यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादीबाट एमालेमा आएका २३ जनालाई विभिन्न पदमा मनोनयन गरेका छन्।
भुसालले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको बताएका छन्।
‘कसैलाई मन लाग्यो भन्दैमा विधानमा रहेको व्यवस्था नाघेर जान नसक्दैन,’ भुसालले भने, ‘ओलीले एमालेको संगठन छिन्नभिन्न पार्दै समाप्त पार्न खोजेका छन्। त्यस्तो हुन दिने छैनौं।’
ओली पक्षले एकलौटी निर्णय गरेपछि त्यसविरुद्ध रणनीति बनाउन नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक अहिले जारी छ।
ओलीको पछिल्लो कदम एमालेमाथिकै प्रहार भएको भुसालको आरोप छ।
भुसालको थप भनाइ यस्तो छ :
‘केही वर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो भन्दै आएको थिएँ। उहाँले त्यही गर्दै आउनुभएको छ। आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनुभएको छ। त्यसका लागि उहाँलाई धन्यवाद छ। तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ- कम्युनिस्ट आन्दोलननलाई विघटन गर्न दिइने छैन, उहाँहालाई असफल पारिनेछ।’

प्रतिक्रिया