प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी नेपालले पुरानै सर्त अघि सारेको छ।
बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो।
आफूहरुले पुरानै माग पूरा गर्नुपर्ने बताएको छलफलमा सहभागी नेता राजेन्द्र महतोले जानकारी दिए।
‘हाम्रा माग पूरा गर्नुपर्ने बतायौँ’ महतोले भने, ‘प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्नुभयो।’
जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो।
छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए।

प्रतिक्रिया