लेखक खगेन्द्र संग्रौलाले भर्खरै पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘होरको जुवाडे’ को संज्ञा दिएका छन्।
आफ्नो पार्टी, आदर्श र एजेन्डालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अर्पण गर्दा प्रचण्डले आजको स्थिति भोग्नुपरेको विश्लेषण लेखक संग्रौलाले गरेका हुन्।
‘दाहाल सरले पार्टी, आदर्श र एजेन्डा ओली सरका चरणमा अर्पण गर्दा दस वर्ष प्रधानमन्त्री भएर अमरत्व प्राप्त गर्ने सपना देखेका थिए,’ बिहीबार बिहानै संग्रौलाले सामाजिक सञ्जामार्फत टिप्पणी गरेका छन्, ‘अहिले आफ्नो महलका बादल, लेखराज, टोपे, मणि, प्रभु र गौरीशंकरलाई ओली सरका तबेलामा छाडेर हारेको जुवाडेझैँ हतास भएर पाखा लागे। कठै, पिँधबिनाका लोटाको दुःख !’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले यही फागुन ११ गते बदर गरेको हो। अर्थात् संसद् पुनर्स्थापना गराएको हो।
तर नेकपा नामबारे विवादमा २ वर्षअघि ऋषि कट्टेलले दिएको मुद्दाको यही फागुन २३ गते फैसला गर्दै सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नै खारेज गरिदिएको हो। योसँगै अहिले देशको राजनीतिक ‘कोर्स’ नै बदलिएको छ। अर्थात् नेकपाको आधिकारिताका लागि लडाइँ गरिरहेका प्रचण्ड र ओली फैसलाअनुसार आआफ्नै पार्टीमा फर्किएका छन्।
त्यति मात्र होइन, नेकपा हुँदैखेरि प्रचण्ड छाडेर ओलीतर्फ लागेका पूर्वमाओवादी नेताहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहलगायत नेता अहिले एमालेमै जाने निर्णयमा पुगेका हुन्।
Shares

प्रतिक्रिया