राजनीति


एक मिनेट सत्तामा बस्न नमिल्ने ओली उल्टै विषाक्त घाँस हाल्दै छन् : डा. भट्टराई

एक मिनेट सत्तामा बस्न नमिल्ने ओली उल्टै विषाक्त घाँस हाल्दै छन् : डा. भट्टराई

नेपालखबर
फागुन २६, २०७७ बुधबार १४:११,

सर्वाेच्च अदालतले गरेका दुई फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार नभएको दाबी जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन्।

जसपाले ओलीसँगै सहकार्य गर्ने चर्चा चलिरहेका बेला त्यही पार्टीका एक शीर्ष नेताले उनीसँग सत्ता साझेदारी गर्नै नसकिने संकेत दिएका हुन्।

प्रधानमन्त्री ओली प्रतिगमनका प्रमुख खलनायक भएको आक्रोश पोख्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नयाँ सत्ता समीकरणबारे जारी छलफलविरुद्ध कडा अभिव्यक्ति दिएका हुन्।

‘खाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो। तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत,’ बुधबार राति सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको? ओली हटाऊँ, देश बचाऊँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको हो। यसपछि ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा माग भइरहेका बेला नेकपा नामबारे यही फागुन २३ गते सर्वाेच्चले सत्तारूढ नेकपा नै खारेज गरिदिएपछि नेपाली राजनीतिको ‘कोर्स’ नै बदलिएको छ।

नेकपामा अल्पमतमा परिसकेका प्रधानमन्त्री ओली एमाले ब्युँतिएपछि अहिले त्यसका एक्ला अध्यक्ष हुँदै बलियो बन्ने स्थिति आएको छ भने प्रचण्ड पक्षमा लागेका माधवकुमार नेपाल र झलनाथ खनालहरू पनि एमालेमै फर्किनुपरेको स्थिति छ। अनि नेकपा हुँदा बहुमतमा रहेका प्रचण्ड पनि अहिले माओवादी केन्द्रमै सीमित हुनुपर्दा नेपालको राजनीतिक परिदृश्य फेरिएको छ।

यही क्रममा प्रधानमन्त्री ओली अहिले आफ्नो सत्ता जोगाउन जसपालगायत दलहरूसँग संवादमा सक्रिय भइरहेका छन्। यसै सन्दर्भमा जसपाका एक जना शीर्ष नेता डा. भट्टराईको कडा टिप्पणी आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad