नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु लेखराज भट्ट र टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीतिर रहने कि नरहने भन्नेबारे अहिले छलफलमै रहेको बताएका छन्।
ओली सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्ट र उर्जा मन्त्री रायमाझीले गृहमन्त्री रामबहादुर थापा लगायतसँग छलफल गरेर आफ्नो धारणा बनाउने नेपालखबरलाई बताए।
तर यसबारे निर्णय ‘फाष्ट ट्याक’मै गर्ने भट्टले बताए।
नेकपा बनेपछि नेताहरु दुईतर्फ विभाजित हुँदा पूर्वमाओवादी नेता भट्ट प्रधानमन्त्री ओलीप्रति नरम थिए।
नेकपा हुँदा माओवादी केन्द्रका तर्फबाट स्थायी समिती सदस्य बनेका भट्ट र रायमाझी प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पक्षमा उभिएर सम्बन्ध थप बलियो बनाएका हुन्। रायमाझीलाई पुस १० गते ओलीले मन्त्री नै नियुक्त गरे।
तर अदालतको फैसलापछि अप्ठेरो अवस्थामा रहेका दुवै मन्त्रीले ओलीतिर रहने कि प्रचण्ड नेतृत्वको माओवादीमा फर्कने भन्नेबारे छलफल गरिरहेको र एक दुईदिनमा निर्णय गर्ने बताए।
‘अहिलेसम्म कता बस्ने मैले निर्णय गरिसकेको छैन,’ भट्टले भने, ‘मलाई कसैले फोन गरेको छैन, मैले पनि कसैलाई सम्पर्क गरेको छैन। तर अब कता रहने भन्नेबारे हामी फास्ट ट्याकमै निर्णय गछौं।’
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपालाई मान्यता नदिएर पुरानै अवस्थामा फर्काएपछि नयाँ रणनीति तय गर्न माओवादी केन्द्रको आज स्थायी समितिको बैठक राखिएको छ।
भट्टका स्वकीय सचिव हितेश ओझाले आज बोलाइएको स्थायी समितिको बैठकमा सहभागी नहुने बताए।
‘आज बस्ने स्थायी समितिको बैठकमा जाँदैनौं,’ ओझाले नेपालखबरसँग भने।
अर्का स्थायी समिति सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि ओलीतिर रहने कि प्रचण्डले नेतृत्वको गरेको माओवादीतर्फ फर्कने भन्ने विषयमा छलफल चलिरहेको बताए।
‘अहिले हामी छलफलमै छौं, कता रहने निर्णय गरिसकेका छैनौं,’ रायमाझीले नेपालखबरसँग भने।
उनले ओलीतिर रहने संभावना उच्च रहेको संकेत गरे।
‘अहिलेकै गन्तव्यमा (ओली समूह)मा अघि बढिरहने नै हुन्छ,’ रायमाझीले भने ।
भट्ट, रायमाझी र प्रभु साह माओवादी केन्द्रबाट प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर सांसद बनेका हुन्।
गृहमन्त्री रहेका रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन्।
ओली पक्षमै रहने निर्णय लिएमा उनीहरुको सांसद पद कसरी रहने भन्ने प्रश्न उठ्नेछ।
स्थायी समिति सदस्य मणि थापा भने सांसद नभएकाले उनलाई त्यो समस्या छैन।
माओवादी केन्द्रमा रहेकामध्ये प्रतिनिधि सभामा रहेका चारजना ओली पक्षमा खुलेका छन्। गौरी शंकर चौधरी र प्रभु साह केन्द्रीय सदस्य हुन्।
यो पनि :
मणि थापाको स्पष्टोक्तिः केपी ओली पक्षमा आएका हामी फेरि माओवादी केन्द्रमा फर्किँदैनौँ (भिडिओ)
Shares

प्रतिक्रिया