राजनीति


अमेरिकी सेनाको खर्च दक्षिण कोरियाले व्यहोर्ने सहमति

अमेरिकी सेनाको खर्च दक्षिण कोरियाले व्यहोर्ने सहमति

नेपालखबर
फागुन २४, २०७७ सोमबार १०:१५,

यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिएका थिए।

आणविक हतियारधारी उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षित राख्न अमेरिकाले हाल २८ हजार ५०० सैनिक तैनाथ गरेको छ।

उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामाथि धावा बोल्नुका साथै केही समय नियन्त्रणमा लिएको थियो।

पूर्व राष्ट्रपति ट्रम्प प्रशासनले सैनिक बन्दोबस्तका लागि दक्षिण कोरियाले वार्षिक पाँच अर्ब डलर बुझाउनु पर्ने कडा शर्त राख्दै आएको थियो। यो रकमवृद्धि झण्डै पाँच गुणा बढी हो।

सन् २०१९ मा समाप्त भएको विगतकै सम्झौता बमोजिम दक्षिण कोरियाले वार्षिक ९२ करोड डलर भुक्तानी गरिरहेको छ। कोरियाली विदेश मन्त्रालयले दुबै मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको जनाएको छ, तर रकमका बारेमा केही उल्लेख छैन।

अमेरिकासँग भएको सम्झौतालाई दक्षिण कोरियाली संसदले अनुमोदन गर्नु पर्नेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया, चीन, इरान र उत्तर कोरियाबाट सिर्जित चुनौतीसँग लड्न अमेरिकाका पूर्ववर्ती साझेदार मुलुकहरुसँगको सम्बन्ध पुनर्जीवित गर्ने यसअघि नै बताइसकेका छन्।

अमेरिकी विदेश मन्त्रालयबाट गरिएको ट्विटमा पनि अमेरिकी गठबन्धनलाई अझ सुदृढ गरिने उल्लेख गरिएको छ। तर ट्विटमा दक्षिण कोरियाले कति रकम अमेरिकालाई भुक्तानी गर्दैछ भन्ने उल्लेख गरिएको छैन।

सम्झौता भएलगत्तै सोमबारदेखि नै वार्षिक संयुक्त सैन्य अभ्यास शुरु भएको छ। तर कोरोना भाइरस महामारीका कारण यस सैन्य अभ्यासलाई सानो बनाइएको छ, र व्यापक सैन्य उपस्थिति र भारी हातहतियार रहने छैनन्।

दक्षिण कोरियाका प्रधान सेनापतिले अमेरिका र कोरियाली सैन्यबीच कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अभ्यास हुन लागेको जानकारी दिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad