राजनीति


विभाजित नेकपालाई पुनः एकीकरण वा कार्यगत एकता गर्न चित्रबहादुर केसीको सुझाव

विभाजित नेकपालाई पुनः एकीकरण वा कार्यगत एकता गर्न चित्रबहादुर केसीको सुझाव

नेपालखबर
फागुन २४, २०७७ सोमबार १०:३,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विभाजित नेकपालाई पुनः एकीकरण गर्न सुझाव दिएका छन्।

एकीकरण वा कार्यगत एकता गरेर सरकार गठन गर्न आग्रह गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्।

सोमबार जारी विज्ञप्तिमा राजमो अध्यक्ष केसीले सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत नरहेको र झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको उल्लेख गरेका छन्।

वक्तव्यमा भनिएको छ,
‘नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो। त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनर्स्थापना भएको थियो। त्यो सकारात्मक कुरा थियो। अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन। त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ।

संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो। अहिले पनि उनी नै बढी जिम्मेवार छन्। यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ। त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो। त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ।

यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो। त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौँ। ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौँ। अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन। त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad