राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशिलता देखाउनुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए। सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको बताए।
राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयन बारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनको भनाइ छ। राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको उनले बताए।
राष्ट्रिय सभाको सातौँ अधिवेशनसम्म आइपुग्दा २ सय २२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको, २४ वटा मध्ये ८ वटा सभामा विचाराधिन रहेको, १० वटा समितिमा विचाराधिन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
त्यसैगरी राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरु दर्ता भई छलफल भएको उनको भनाई छ।
साथै राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको अध्यक्ष तिमिल्सिनाले बताए। राष्ट्रिय सभाले यस अवधिसम्म प्रतिनिधि सभामा दर्ता भई प्रतिवेदनसहित राष्ट्रिय सभामा आएका विभिन्न विधेयक तथा सन्धि-सम्झौताहरु राष्ट्रिय सभाबाट पारित गरी फिर्ता पठाइएका छन्।
राष्ट्रिय सभाले सात वटै प्रदेश सभासँग अन्तरक्रिया गरी संघ, प्रदेश र स्थानीय तह–अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ पारित गरेको थियो।
Shares

प्रतिक्रिया