राजनीति


‘तपाईंहरुलाई थाहा छ माधव नेपालका पालामा मलाई के के गरिन्थ्यो?’ भन्दै ओलीले दिए यस्तो वृत्तान्त (भिडिओ)

‘तपाईंहरुलाई थाहा छ माधव नेपालका पालामा मलाई के के गरिन्थ्यो?’ भन्दै ओलीले दिए यस्तो वृत्तान्त (भिडिओ)

नेपालखबर
फागुन १७, २०७७ सोमबार ९:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाललाई आफूले राजनीतिमा ल्याएको र अहिले उनलाई राजनीतिमा नल्याएको भए हुनेरहेछ भन्ने लागेको बताए।

ओलीले नेपाललाई त्यतिबेला राम्रो मान्छे ठानेर ल्याएको तर अहिले उनी खराब सावित भएको दाबी गरे।

पूर्वप्रधानमन्त्री तथा नेकपा–एमालेका प्रमुख बनिसकेका नेपाललाई ओलीले आफूले २०२९ साल चैतमा भेटेर राजनीतितर्फ लाग्नका लागि प्रेरित गर्न निकै मेहनत गरेको बताए।

‘माधव नेपाल त्यतिबेला अहिलेको जस्तो खराब हुनुहुन्नथ्यो, अहिले उहाँको अर्जुनदृष्टि अध्यक्ष र प्रधानमन्त्री पदमा मात्रै छ। त्यो पनि उधारो होइन, नगद,’ सोमबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘उहाँलाई हामीले १५ वर्षसम्म निर्विरोध छाड्यौं। १५ वर्ष काँधमा बोकियो। त्यतिबेला पनि कहिले (दरबारमा) दाम चढाउन जान्छन् कहिले...। अहिले गणतन्त्रका ठूला कुरा गर्छन्।’

उनले प्रचण्डको दरबार र सबै खराब तत्वसँग साँठगाँठ रहेको आरोप लगाउँदै त्यसबारे व्याख्या गर्न आफूसँग अहिले समय नभएको बताए।

पुनः माधव नेपालकै बारेमा बताउँदै ओलीले आफूले नेपाललाई भेट्दा क्याम्पस पढ्दै गरेको बताए।

‘एउटा युवा विद्यार्थी, नजिकैको बैंकमा जागिर गरेको, देशमा केहि भयो हुन्थ्यो भन्ने पवित्र भावना भएको देखेर मैले राजनीतिमा आउनुस् कि आउनुस् भनेर राजनीतिमा ल्याउन प्रेरित गरेँ,’ उनले भने, ‘पछि यसरी कुइन्छ भनेर थाह भएको भए त त्यति कोशिस नगरेको भएँ हुन्थ्यो भन्ने पनि लाग्यो। धेरै कोशिस, मेहनत गरियो।’

नेपालले आफू पदमा भएपछि अरुलाई कहिल्यै नछाड्ने, गुटबन्दी गर्ने र अरुलाई दबाउने गरेको आरोप लगाए।

‘तपाईंहरुलाई थाह छ? म त कुनै कार्यक्रममा जान पनि पाउँदैनथेँ। कसैले बोलायो भने उसलाई स्पष्टिकरण सोधिन्थ्यो, पत्रिकामा अन्तरवार्ता दिन पनि नपाउने,’ ओलीले भने, ‘कहिँ गएँ भने त्यहाँ मैले के बोलेँ भनेर उनका समर्थकले क्यासेट बुझाउनु पर्ने, रेकर्ड नबुझाए उनका मान्छेले पनि कारवाही खान्थे।’

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad