नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१८ ले बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६१८ थपिएको हो।
यसअघि कोरोनाबाट मृत्यु भएकाको संख्यामा मन्त्रालय र शव व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको फरक–फरक थियो।
फरक–फरक संख्यालाई रुजु गरेपछि मृत्युको संख्या बढेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
सेनाले शव व्यवस्थापन गर्दा घरमा मृत्यु भएका व्यक्तिको पनि संख्या गनेको तर स्वास्थ्य मन्त्रालयमा उक्त संख्या नपुगेका कारण संख्या फरक देखिएको उनले बताए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७१ जना निको भएसँगै २ लाख ७० हजार ७३९ जना निको भएका छन्।

प्रतिक्रिया