ad ad

राजनीति


विवेकशील साझाले माग्यो प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा, पद नछाडे भण्डारीलाई महाअभियोग

विवेकशील साझाले माग्यो प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा, पद नछाडे भण्डारीलाई महाअभियोग

नेपालखबर
फागुन १२, २०७७ बुधबार ४:४७,

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेकाे छ।

विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा ओलीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने सो पार्टीको माग छ।

‘त्यसै गरी संविधानको रक्षा गर्ने दायित्वलाई रत्तिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ,’ सो पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ।’

पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको गम्भीर पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा अक्षुण्ण राख्न सक्ने ठहर समेत सो पार्टीले गरेको छ।

विवेकशील साझा पार्टीले पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि माग गरेको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत र सम्मान गर्दै सो पार्टीले यी आवाजहरु उठाएको जनाएको छ।

अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको सो पार्टीले ठहर गरेको छ।

‘अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको छ, अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘योसँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .